शैक्षिक सुधारका लागि चालिने जुनसुकै कदममा सहयोग गर्न गाउँपालिका तयार छ : अध्यक्ष राई
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेचासल्यान गाउँपालिकास्थित केदार माध्यमिक विद्यालयको आयोजनामा वृहत् सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विद्यालय संस्थापक, जग्गादातालाई कदर पत्रसहित दोसल्ला ओडाएर सम्मान गर्नुका साथै चन्दादातालाई कदरपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति गाउँपालिका अध्यक्ष राईले अभिभावकमा बढ्दो निजि विद्यालयप्रतिको मोह भंग हुने गरी सामुदायिक विद्यालयहरुले गुणस्तर सुधारमा जोड दिनुपर्ने बताउनुभयो। शैक्षिक सुधारका लागि विद्यालयले चाल्ने जस्तोसुकै कदममा गाउँपालिका सहयोग गर्न तयार रहेको बताउंदै उनले नयाँ उद्देश्य र कार्यक्रमसहित सकारात्मक सन्देश फैलाउनतर्फ केन्द्रित हुन सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।
केदार माविले साधारण र प्राविधिक धारको शिक्षा प्रदान गरेर गाउँपालिकाभित्र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्बाह गरेको बताउंदै उनले पालिका उद्देश्य प्राप्तिका लागि विद्यालयलाई सक्दो सहयोग गर्न तयार रहेको बताएका थिए। शैक्षिक उन्नयनका लागि विद्यालय व्यवस्थापन समिति,शिक्षक,गाउँपालिका शिक्षा समिति र शिक्षा क्षेत्रसँग सरोकार राख्ने सबै पक्षबीच अन्तरक्रिया र समन्वय हुनुपर्नेमा अध्यक्ष राईको जोड थियो।
अध्यक्ष राईले विद्यालयद्वारा स्थापित विद्यार्थी सहायता कोषमा पन्ध्र हजार सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष हेमराज कटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिशेष अतिथि कांग्रेस नेता प्रकाशसिं कार्की,नेचासल्यान गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष इन्द्रबहादुर राई, ५ का वडा अध्यक्ष राजन कुमार राई, जिल्ला शिक्षा समिति सदस्य भेषकुमार बास्तोला,
नेकपा एमाले गाउँ पार्टी कमिटीका अध्यक्ष जगन्नाथ बास्तोला, नेपाली काङ्ग्रेसका कार्यवाहक अध्यक्ष घनश्याम बास्तोला,नेकपा माओवादी केन्द्र नेचासल्यानका प्रतिनिधि वियस राई, , नेपाली काङ्ग्रेसका नेता भोजराज कार्की र विभिन्न विद्यालयका प्रधानाध्यापकले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।