सिटिजन लाइफको आइपिओ बाँडफाँड आज,२ लाख बढीको हात खाली हुने अनुमान
काठमाडौ।सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आज दिउँसो २ बजे बाँडफाँड गरिने भएको छ । धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आईपीओ बाँडफाँड गर्ने भएको हो।

सिटिजन लाइफले गत भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा ९० लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।
सीडीएससीका अनुसार निष्कासनको अन्तिम दिनसम्म यो आईपीओमा ११ लाख ७ हजार ४८ आवेदकबाट कुल १ करोड २४ लाख ५० हजार १२० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ। जुन मागभन्दा १.३८ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा ९ लाख आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। यो हिसाबले २ लाख बढीको हात खाली हुने देखिएको छ।

