क्रिकेटर सन्दीपविरुद्धको मुद्दा, पीडित भनिएकी किशोरी र उनकी आमाको उमेर अन्तर ९ वर्षको मात्रै !
काठमाडौँ ।क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा भएको सुनुवाइ स्थगित भएको हो ।आजको इजलासले पीडित ‘गौशाला २६’ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको छ ।
क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कारको मुद्दामा अदालतले पीडित किशोरीको आमाको जन्ममिति सम्बन्धी कागजात मगाउने आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले आमाको नागरिकता सम्बन्धी कागजात मगाउने आदेश दिएका हुन् ।
प्रतिवादी सन्दीप लामिछानेका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार अदालतले पीडित किशोरीको आमाको जन्ममिति खुल्ने कागजात मगाउने आदेश दिएको बताए । कतिपय कागजातमा पीडित भनिएकी किशोरीको उमेर र उनकी आमाको उमेर अन्तर ९ वर्षको मात्रै देखिएको भन्दै सो विषय स्पष्ट हुन आमाको नागरिकता वा जन्ममिति खुल्ने कागजात मगाइएको हो ।
अब पीडित किशोरीको आमाको नागरिकतासम्बन्धी कागजात आएपछि मात्रै उक्त मुद्दामा सुनुवाइ हुनेछ ।

