इतिहासविद् तथा साहित्यकार ज्ञानमणि नेपाललाई लीलाध्वज साहित्य सम्मान



काठमाडौं।इतिहासविद् तथा साहित्यकार ज्ञानमणि नेपाललाई लीलाध्वज साहित्य सम्मान प्रदान गरिएको छ।

उपन्यासकार लीलाध्वज थापाको १०३ औं जन्मजयन्तीका अवसरमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा शुक्रबार सो सम्मान प्रदान गरिएको हो।इतिहासविद् तथा साहित्यकार नेपाललाई कार्यक्रमका प्रमुख अतिथि त्रिविका पूर्व उपकुलपति प्रा.केदारभक्त माथेमाले २५ हजार नगदसहित सरस्वतीको मूर्ति प्रदान गर्नुभएको थियो भने प्रतिस्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो।न

पुरस्कृत हुनुभएका नेपालले यसश्वि साहित्यकार लीलाध्वज थापाको कृतिको सम्झना गर्दै उहाँको नामबाट पुत्र विजयध्वज थापाले साहित्यिक प्रतिष्ठान स्थापना गरेर पचहत्तर साहित्यकारलाई सम्मान गरिसकेको भन्दै खुसी व्यक्त गर्नुभयो ।सोही कार्यक्रममा पाँच जना कवि प्रा. रमेश शुभेच्छु,मोमिला जोशी,वलराम दाहाल,सीता भट्टराई र काजी रोशनले आ-आफ्नो कविता वाचन गर्नुभएको थियो।

प्रमुख अतिथि प्रा.माथेमाले कविहरूलाई कदरपत्र तथा प्रमुख वक्ता प्रा डा लेखप्रसाद निरौलालाई मायाको चिनो प्रदान गर्नुभयो । अध्यक्ष थापाले प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गर्नुभयो ।कार्यक्रममा प्रमुख अतिथि माथेमाले विद्वान अन्वेषक,साहित्यकार जस्तो लुकेको प्रतिभालाई लीलाध्वज थापा साहित्य प्रतिष्ठानले छानेर उपयुक्त व्यक्तिलाई सम्मान प्रदान गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रमुख वक्ता प्रा डा लेखप्रसाद निरौला,प्रा डा रामप्रसाद ज्ञवाली,साहित्यिक पत्रकार रोचक घिमिरेले आआफ्नो धारणा राख्नुभएको सो कार्यक्रममा साहित्यिक पत्रकार रामप्रसाद पन्तले स्वागत मन्तव्य र साहित्यकार यादव भट्टराईले उद्घोषकको भूमिका निभाउनुभएको थियो।कार्यक्रमका सभापति एवं प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले इतिहासविद् नेपालले सम्मान/ पुरस्कार ग्रहण गरिदिनुहुँदा प्रतिष्ठानको गरिमा बढेको र आफ्नो व्यस्त समयको वावजुद पनि कार्यक्रममा आई कार्यक्रम सफल पारिदिनुभएको उहांहरुप्रति आभार व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्