बित्तीय समानीकरण अनुदानको अन्तिम किस्ताको रकम कटौती गर्ने निर्णयबाट पछि हट्यो सरकार
काठमाडौँ । संघीय सरकारले स्थानीय तहलाई दिनुपर्ने बित्तीय समानीकरण अनुदानको अन्तिम किस्ताको ४० प्रतिशत रकम तत्काल पठाउने निर्णय गरेपछि नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले घोषणा गरेको सिंहदरबार घेराउ कार्यक्रम स्थगित भएको छ ।

बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले ४० प्रतिशत रकम तत्काल पठाउने निर्णय गरेसंगै आन्दोलनरत नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले शुक्रबार गर्ने भनिएको सिंहदरबार घेराउसहित आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका हुन्।सरकारले स्थानीय तहलाई दिँदै आएको वित्तिय समानीकरण अनुदान मध्ये अन्तिम किस्ताको ५० प्रतिशत रकम कतौटी गरेको भन्दै उनीहरू आन्दोलित थिए।
सरकारले चालु आर्थिक वर्ष २०७९/८० मा स्थानीय तहलाई दिनुपर्ने वित्तीय समानीकरण अनुदानको अन्तिम किस्ताको ५० प्रतिशत रकम नदिने भएपछि आन्दोलनका कार्यक्रम घोषणा गरिएको थियो ।
साथै महासंघ र संघले आजै एक विज्ञप्ति जारी सरकारको निर्णयको स्वागत गर्दै धन्यवाद समेत दिएका छन् ।

