पप्पु कन्ट्रक्सनका सञ्चालक एवं पूर्वसांसद रौनियार पक्राउ
काठमाडौं।एक करोडभन्दा बढी ठगीको आरोपमा पप्पु कन्ट्रक्सन प्रालिका सञ्चालक एवं पूर्वसांसद हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ ।

रौनियारलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिनुभयो । रौनियारविरुद्ध गत वैशाखमै बाँके प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।
रौनियारलाई बाँके पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । तत्कालीन संघीय समाजवादी फोरमका नेता रौनियार २०७४ को निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको थियो ।
पप्पु कन्ट्रक्सनले देशका विभिन्न ठाउँमा आयोजनाको निर्माण जिम्मा लिएर कामै नगरी अलपत्र पार्ने गरेको छ । गत असोज १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको जब्दिघाटको बबई पुल निर्माणमा गुणस्तर कायम नगरी भ्रष्टचार गरेको भन्ने विषयमा विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो ।

