कोशी प्रदेश : ढल्यो एमाले नेतृत्वको सरकार,कार्कीको पक्षमा ४६ विपक्षमा ४३ मत



विराटनगर।एमालेको नेतृत्वमा रहेको कोशी प्रदेश सरकार अन्ततः ढलेको छ।मुख्यमन्त्री हिक्मत कार्की विश्वासको मत हासिल गर्न विफल भएसंगै एमाले नेतृत्वमा रहेको एकमात्र प्रदेश सरकार शुक्रबार ढलेको हो।

प्रदेश सभाको बैठकमा भएको मतविभाजनमा मुख्यमन्त्री कार्कीको पक्षमा ४६ र विपक्षमा ४३ सांसद् भए।आवश्यक ४७ मा एक सांसद अपुग भएका कारण कार्की सरकारबाट बाहिरिन बाध्य भएका छन्। मतविभाजनमा प्रदेश सभाकाद ९३ मध्ये ८९ सांसद् उपस्थित थिए।

कोशी प्रदेशमा ९३ मध्ये एमालेको ४०, कांग्रेसको २९, माओवादी केन्द्रको सभामुखसहित १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ सिट छ।

मुख्यमन्त्री कार्कीलाई सरकारमा सहभागी अर्को दल राप्रपाले विश्वासको मत दिएको थियो। नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले कार्कीलाई विश्वासको मत दिएनन्। मतविभाजनका क्रममा जसपाका सांसद् निर्मला तावा लिम्बू अनुपस्थित थिइन्। जसपाले कोशी प्रदेशको मतविभाजनमा तटस्थ रहने निर्णय गरेको छ।

कार्कीले २०७९ पुस २४ मा मुख्यमन्त्रीको नियुक्ति पाएका थिए। जसपाबाट प्रदेश स्वास्थ्य मन्त्री भएकी लिम्बूले गत जेठ १७ मा आफ्नो पदबाट राजिनामा गर्दै कार्की नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएकी थिइन्। यसपछि प्रदेश सरकार अप्ठ्यारोमा परेको थियो।

जसपाले समर्थन फिर्ता लिएका कारण कार्कीले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत सिद्ध गर्नुपर्ने थियो। जसपाले सरकारको समर्थन फिर्ता लिएको असार १५ गते ३० दिन पुगेको छ।

प्रतिक्रिया दिनुहोस्