विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव भएको बताएका छन्।

इस्लाम धर्मावलम्वीहरूको महान् पर्व बकर ईद (इद-उल-अजहा) २०८० को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम समुदाय लगायत समस्त नेपालीहरूमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमा भनेका छन,-‘बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो देश संविधानतः धर्म निरपेक्ष राज्य हो। विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरवसमेत हो। बहुधर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन्। यस्ता विविधतायुक्त विषेशता बोकेका धार्मिक एवं सांस्कृतिक चाडपर्वले साँस्कृतिक एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिएका छन्।’
सामाजिक सद्भाव र पारिवारिक मिलनको रूपमा मनाइने बकर ईदले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्ने बताउंदै उनले प्रेम र सद्भाव आदानप्रदान गर्ने यस पर्वले आम मुस्लिम समुदाय र नेपालीहरूमा स्वतन्त्रता र समृद्धिको मार्गमा अगाडि बढ्न अभिप्रेरित गर्ने विश्वास समेत व्यक्त गरेका छन्।

