छोड्यो माओवादी केन्द्रले साथ,कोशी प्रदेश सरकार अल्पमतमा
विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।विराटनगरमा आज बिहान पार्टीका प्रदेश पदाधिकारी सहित भएको संसदीय दलको बैठकले हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो ।

यस्तै आजै कोशी प्रदेश सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने समेत निर्णय भएको माओवादी प्रदेश कमिटीका उपाध्यक्ष शिव डाँगीले बताए।गत पुस २४ गते नेकपा एमाले संसदीय दलका नेता कार्कीको नेतृत्वमा गठन भएको सरकारमा माओवादी केन्द्रबाट २ जना मन्त्री छन् ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा दुर्गाप्रसाद चापागाईं र वन, पर्यटन तथा वातावरण मन्त्रालयमा जीवन आचार्य मन्त्री छन् । दुवै मन्त्री गत माघ ६ गते नियुक्त भएका थिए । माओवादी केन्द्र सरकारबाट फिर्ता भएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
प्रदेशसभामा बहुमतको लागि ४७ सांसद आवश्यक पर्नेमा माओवादी फिर्ता भएपछि एमालेका ४० र राप्रपाका ६ गरी सरकारको समर्थनमा ४६ सांसद मात्र रहेका छन् । माओवादी केन्द्रले अर्को सरकार गठनका लागि मुख्यमन्त्रीमा आफ्नै दलका नेता इन्द्रबहादुर आङ्बोलाई अगाडि सार्ने निर्णय पनि गरेको छ।
सरकारको अर्को सहयोगी दल जसपा भने समर्थन फिर्ता लिंदै गत साता सरकारबाट बाहिरिएको थियो।

