भूमि साट्ने कुरा भएको छैन,नेपालको भूमि स्थापित गर्ने विषय पहिलो प्राथमिकता : प्रधानमन्त्री
काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा नेपालको भूमि साट्ने विषयमा कुरा नभएको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकले उनले आफूले नेपालको भूमि साट्ने कुरा नभएको स्पष्ट पारेका हुन् । उनले नेपालको भूमि स्थापित गर्ने विषय पहिलो प्राथमिकताको कुरा भएको बताए ।

आफ्नो भारत भ्रमणमा सीमा विवाद समाधान नगरी दुई देशबीचको सम्बन्ध उचाइ नपुग्ने बताएको र यसबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सीमा विवाद समाधान गर्ने बताएको प्रधानमन्त्री प्रचण्डले बताए ।
तर, बङ्गलादेशसम्मको पहुँचका लागि नेपाली भूमि साट्न सकिन्छ भनेर विज्ञले भनेका छन् भनेर बोलेको कुरालाई नेपाली भूमि साट्यो भनेर हल्ला चलाइएकोप्रति आफूलाई दुःख लागेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
‘मैले कहीँ पनि विकल्प यो हुन्छ र यसमा जाऊँ भनेर प्रस्तावित गरेको छैन । प्रस्ट होस्’, प्रचण्डले भने, ‘कहीँ कोही कन्फ्युजन नहोस् । हामीले भनेका छौँ कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमिका हो । नेपालको भूमि हो भन्ने कुरा स्थापित कुरा सबैभन्दा ठुलो कुरा हो भन्नेमा म स्पष्ट छु ।’ आफूले सोहीअनुसार भूमिका खेलेको पनि प्रचण्डले बताए ।
उनले सिधा तथ्य भएको कुरालाई नघुमाउन पनि अनुरोध गरे । तुलनात्मक रूपमा आफ्नो भारत भ्रमण सफल मात्रै नभई ऐतिहासिक भएको पनि प्रचण्डले बताए।उनले अगाडि भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत समस्याको विषयमा पुरै गम्भीरता र जिम्मेवारीपूर्वक भन्न चाहन्छु । यो समस्या समाधान गर्नै पर्छ । जबसम्म दीर्घकालीन समाधान हुँदैन, नेपाल–भारत बीचको समस्या समाधान हुन सक्दैन ।’

