प्रधानमन्त्री प्रचण्डले दिल्लीमा राष्ट्रघाती अभिव्यक्ति दिएको एमालेको ठहर, संसदमा आज जवाफ माग्ने
काठमाडौं।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले हालै भारत भ्रमणका क्रममा राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग जवाफ माग्ने भएको छ।

बंगलादेशको फूलबारी बन्दरगाहसम्मको रुट उपलब्ध गराए नेपालले कालापानी र लिपुलेक भारतसँग साटफेर गर्न सकिने भन्दै प्रधानमन्त्री दाहालले दिएको अभिब्यक्तिलाई लिएर एमालेले जवाफ माग्न लागेको हो।
एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले शनिबार बसेको संसदीय दलको बैठकको निर्णायानुसार सो जवाफ माग्न लागेको जानकारी दिए।प्रधानमन्त्री दाहालले भारतको आफनो चार दिने औपचारिक भ्रमणको क्रममा बंगलादेशसँग सिमा पहुँच पुर्याउनका लागि कालापानीको भू-भाग साटफेर गर्न सकिने विकल्पका बारेमा पनि भारतीय पक्षसँग छलफल भएको जानकारी दिएका थिए। सोही अभिब्यक्तिलाई लिएर एमालेले आपत्ति जनाएको हो।
एमालेले इपिजी प्रतिवेदनका बारेमा प्रधानमन्त्री दाहालले छलफल नगरेको बिषयलाई पनि गम्भिरतापुर्वक लिएको छ। ‘सीमा समस्याको विषयलाई उहाँले उठाउन सक्नुभएन, ईपीजी प्रतिवेदन बुझ्ने सवालमा जुन ढंगले विषय उठाउन सक्नुपर्दथ्यो, यी विषयहरु पनि उहाँले उठाउनु भएन,यो भ्रमण राष्ट्रहितको पक्षमा हुन सकेन’ एमाले संसदीय दलको निष्कर्ष सुनाउँदै गिरीले भने। उनका अनुसार ‘दिने काम भएको तर लिने काम हुन नसकेको भ्रमण’ को रुपमा एमालेले लिएको छ।

