नेपालमा हिन्दु धर्म मान्नेहरुको संख्या ८१.१८ प्रतिशत,जातजातिको संख्या १४१



काठमाडौं।राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा दुई करोड २६ लाख सात हजार ७४४ हिन्दू धर्मावलम्बी रहेका जनाएको छ।

नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी राष्ट्रिय जनगणनाको तथ्यांकीय नतिजा शुक्रवार सार्वजनिक गर्दै सो कार्यालयले हिन्दुहरुको संख्या कूल जनसंख्याको ८१.१८ प्रतिशत रहेको तथ्य सार्बजनिक गरेको हो। २०६८ को जनगणना अनुसार नेपालमा हिन्दू धर्म मान्नेको संख्या ८१.३ प्रतिशत थियो ।

यस्तै नेपालमा हिन्दूपछि दोस्रोमा बौद्ध धर्म मान्ने छन् । कार्यालयको विवरणअनुसार २३ लाख ९३ हजार ५४९ जना छन् । जुन कूल जनसंख्याको ८.२१ प्रतिशत हो ।तेस्रोमा मुस्लिम धर्म मान्ने १४ लाख ८३ हजार ६६ जना छन् । जुन कूल जनसंख्याको ५.०८ प्रतिशत हो ।त्यस्तै किरात धर्मा मान्ने नौ लाख २४ हजार २०४ जना छन् । जुन कूल जनसंख्याको ३.१७ प्रतिशत हो ।

नेपालमा क्रिश्चियन धर्मामान्नेको संख्या पाँच लाख १२ हजार ३१३ रहेको छ । जुन कूल जनसंख्याको १. ७५ प्रतिशत हो । २०६८ को जनगणना अनुसार नेपालमा क्रिश्चियन धर्म मान्नेको संख्या १.४ प्रतिशत थियो ।बाँकी अन्य धर्म मान्ने छन्।

यसैगरी,नेपालमा १४१ वटा जातजाति रहेका छन् । यसअघि २०६८ सालको जनगणना अनुसार नेपालमा १२५ जातजाति रहेका थिए । यसपाली १६ जातजाति थप भएको कार्यालयले जनाएको छ । नेपालमा बोलिने मातृभाषा १२४ रहेको कार्यालयले जनाएको छ ।

जनगणनाअनुसार जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित तथ्याङ्क उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञसमूहको सिफारिस अनुसार राष्ट्रिय जनगणना २०७८ मा जातजातिको संख्या, मातृभाषा संख्या र धर्म संख्या कायम भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्