सुनकोसीमा स्कर्पियो खस्दा सीटीईभीटीका तीनजना निर्देशक बेपत्ता



काठमाडौं।सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनमा स्कोर्पिओ खस्दा सीटीईभीटीका तीन जना निर्देशक बेपत्ता भएका छन् ।

शुक्रबार दिउँसो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारी बोकेर काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको स्कोर्पिओ सिन्धुलीको सुनकोशी नदीमा खसेको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए।

एसपी सिलवालका अनुसार सीटीईभीटीका निर्देशकत्रय कृष्ण केसी, यामप्रसाद भुर्तेल र भानु पौडेल नदीमा बेपत्ता भएका हुन्।स्कोर्पिओका चालकले भने पौडिएर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।

उनीहरूको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालआश्रित गुल्म सिन्धुलीबाट डीएमसहित सशस्त्र प्रहरी निरिक्षक कमान्डको १३ जना, सशस्त्र प्रहरी बल, नेपाल रामेछाप गुल्मबाट सशस्त्र प्रहरी नायब निरिक्षक कमान्डको ९ जना र काठमाडौं सिनामंगलस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २० बिपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमान्डको ७ जना गोताखोर टोली खटिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।file foto

प्रतिक्रिया दिनुहोस्