नागरिकता विधेयक प्रमाणीकरण खारेज गर्न माग गर्दै सर्बोच्चमा रिट



काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडलले बुधबार गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले आज सर्वोच्च अदालतमा रिट पेस गरेका छन् ।
रिटमा राष्ट्रपतिको कदम खारेज गरी नागरिकतासम्बन्धी कानुन संसदीय प्रक्रियाअनुसार बनाउन माग गरिएको छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयकलाई तत्काल ऐनको अंग नबनाउन माग गरिएको वरिष्ठ अधिवक्ता भण्डारीले जानकारी दिए ।

राष्ट्रपति पौडेलले नागरिकता विधेयक बुधबार बिहान प्रमाणीकरण गरेका थिए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानविपरीत रोकेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो ।

मन्त्रिपरिषद्को आग्रहअनुसार उनले संविधानको धारा ६१ र ६६ बमोजिम विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ ।

संघीय संसदले साउन २०७९ मै नागरिकता विधेयक पास गरेको थियो । तर, तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्