देउसाकी कुमारी राईको बलात्कारपछि हत्या, तीन अभियुक्त सार्बजनिक
दिप खालिङ,सोलुखुम्बु।गत जेठ ११ गते थुलुङ दुधकोशी गाउँपालिका ७ मा भएको कुमारी राईको बलात्कारपछि हत्या भएको खुलेको छ।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ७ देउसा तेरादुखोरकी ५२ वर्षीया कुमारी राईको हत्या अभियोगमा पक्राउ परेका तीन जनाको प्रारम्भिक बयानबाटसो तथ्य खुलेको हो।उनको जेठ ११ गते राति हत्या भएको थियो ।

हत्या भएको ७ दिनपछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले ३ जना आरोपितलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ।बुधबार प्रहरीले थुलुङ दुधकोशी गाउँपालिका ७ लुरुवाका २० वर्षीय युवराज खत्री,५६ वर्षीय भागिधन राई र ५७ वर्षीय चरण राईलाई प्रहरीले सार्वजनिक गरेको हो । बलात्कारपछि हत्याका लागि उनीहरूले कुकर, काठको पिरा,फलामको कर्नर र सिलबरको डाडु प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
मृतक राईको अनुहार, टाउँको र शरिरका विभिन्न भागमा चोट लागेको थियो । आरोपति चरण राईलाई १२ गते घरबाटै पक्राउ गरिएको थियो भने भागिधन राईलाई १३ गते र युवराज खत्रीलाई १४ गते पक्राउ गरि अनुसन्धान सुरु गरिएको थियो । हत्यापछि युवराजले प्रयोग गरेको चप्पल र कपडा सोहि ठाउँमा छाडेर भागेको समेत प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएकाहरुको पहिचानका लागी प्रदेश प्रहरी कार्यालयबाट कुकुर सहितको अनुसन्धान टोली आएकाले पनि चाडै पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीले आरोपित विरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने सम्बन्धी कसुरमा मुद्धा दर्ता गरेको छ ।

