‘अखण्ड भारत’ को नक्शामा नेपाली भूमि : बागमती प्रदेशसभाले जनायो बिरोध,विद्यार्थीहरुले जलाए भारतको नक्सा



हेटौंडा।भारतको नवनिर्मित संसद भवनमा नेपालको भूभाग समेटिएको नक्सा राखिएको विरोधमा वाग्मती प्रदेशसभामा एमालेले प्रस्ताव गरेको संकल्प प्रस्ताव सर्वसम्मतले पारित भएको छ।

बुधवार बसेको प्रदेश सभाको बैठकमा एमाले वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले संकल्प प्रस्ताव पेश गरेका थिए। संकल्प प्रस्तावमा नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दन काफ्ले, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्न ढकाल , राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद कुमारी तामाङ, एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्णप्रसाद खनाल र हाम्रो नेपाली पार्टीका सुरेन्द्रमान बज्राचार्यले समर्थन गरेका थिए।

त्यसअघि प्रदेश सभा नियमावली, २०७४ को परिच्छेद १३ बमोजिम प्रदेश सभा बैठकमा संकल्प प्रस्ताव पेश गर्न सोही नियमावलीको नियम २११ को उपनियम (१) बमोजिम नियम निलम्बन गरिएको थियो।

यता , भारतले आफ्नो नवनिर्मित संसद् भवनमा राखेको अखण्ड भारतको नक्साको विरोधमा संयुक्त संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । भारतले नेपालको भूभागलाई समेत सो नक्सामा समावेश गरेको भन्दै विद्यार्थीहरूले बुधबार विरोध प्रदर्शन गरेका हुन्।प्रदर्शनका क्रममा उनीहरूले नाराबाजी गर्दै भारतको नक्सालाई समेत जलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्