अन्ततः राष्ट्रपति पौडेलले गरे बिबादित नागरिकता विधेयक प्रमाणीकरण



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिबादीत नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । उनले बुधबार बिहान विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण भएको पुष्टि गरे । अघिल्लो संघीय संसद्‍बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

आजै दिउँसो १ः२५ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार लिने भ्रमणका लागि भारत प्रस्थान गर्दैछन् । त्यसअघि भएको प्रमाणीकरणलाई चासोका साथ हेरिएको छ । बिहानमात्रै प्रचण्डले शीतल निवास पुगेर आफ्नो भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो । राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्