‘बल्ल वडाध्यक्षको लेवलमा आउनु भो’ भन्दै बालेनले गरे सांसदहरुलाई ब्यंग्य
काठमाडौं।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले बल्ल सांसदहरु वडाध्यक्षको लेवलमा आईपुगेको भन्दै ब्यंग्य गरेका छन्।

अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको आगामी बर्षको बजेटमा संघीय सांसदलाई प्रति सांसद ५ करोड प्रदान गर्ने घोषणा गरेपछि मेयर शाहले त्यस किसिमको ब्यंग्य गरेका हुन्।
अर्थतन्त्र संकटमा रहेका बेला निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई ब्युंँताएर सरकारले सांसदलाई जनही पांछ करोड बितरण गर्नु संघीयताको मर्मविपरीत रहेको भन्दै अहिले त्यसको चौतर्फी आलोचना भइरहेको छ।
सांसदको काम नीति निर्माण गर्ने र बिकासको अवलोकन गर्ने भएको बताउंदै उक्त कार्यक्रमको बिरोध सुरु भएपछि दुई बर्ष अघि तत्कालीन अर्थमन्त्री बिष्णु पौडेलको पालामा सो कार्यक्रम खारेज गरिएको थियो ।
यसैलाई ब्यँग्य गर्दै आज बालेनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘सांसद बिकास कोष पाएसी सांसदहरु बल्ल वडाध्यक्षको लेबलमा आउनु भो।वडाध्यक्षकै काम गर्न मन भए किन माननीय बन्नुहुन्छ , सांसद ज्यूहरु।’

