सर्बोच्चद्वारा जन्मकैद सदर, सरकारद्वारा सजाय माफी मिनाहका लागि सिफारिस



काठमाडौं।सर्बोच्च अदालतले जन्मकैद सदर गरेको दुई हप्ता पनि नबित्दै सरकारले जेलमा रहेका रेशमलाल चौधरीको सजाय माफी मिनाहका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार चौधरीको निवेदन र राष्ट्रपति कार्यालयले सोधेका केहि विषयलाई सम्बोधनसहित सजाय माफी मिनाहका लागि आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकल राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

सर्वाेच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले टिकापुर घटनाका मुख्य दोषी चौधरीलाई यसअघि जिल्ला र उच्च अदालतले सुनाएको जन्मकैदको सजाय जेठ २ गते सदर गरेको थियो।

चौधरीमाथि २०७२ भदौमा कैलालीको टिकापुरमा भएको थरुहट आन्दोलनमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको निर्मम हत्या गर्न प्रमुख भूमिका खेलेको अभियोग छ।

यसैबीच,मन्त्रीपरिषदको सिफारिसमा गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले टोपबहादुर बुढासहित १९ जनालाई आम माफी दिएका छन् । त्यस्तै ४८२ कैदीको बाँकी कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । आममाफी र कैद मिनाहापछि उनीहरु उनीहरू जेठ १५ गते १० बजेपछि छुट्ने छन् । कानूनअनुसार ५० प्रतिशत कैद भुक्तान गरिसकेका राम्रो आचरण भएका कैदीको बाँकी कैद राष्ट्रपतिले मिनाहा गर्ने व्यवस्था छ । यसै विभिन्न कसुरमा दोषी ठहर भएका व्यक्तिलाई राष्ट्रपतिले आम माफी दिन सक्ने व्यवस्था पनि कानूनमा छ । तर, निश्चित कसुरमा दोषी ठहर भएकाले बाँकी कैद मिनाहा र आममाफी सुविधा पाउने व्यवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्