बिराटनगरबाट बिहानै १७ जना पक्राउ



विराटनगर ।कोसी प्रदेश नामाकरण विरुद्ध असन्तुष्टि जनाउँदै आन्दोलनरत पहिचान पक्षधर १७ जना पक्राउ परेका छन् ।
राजधानी विराटनगरबाट प्रदेशको नाम कोसी खारेज हुनुपर्ने र पहिचानका आधारमा पुनः प्रदेशको नामकरण गर्नुपर्ने माग राखेर आन्दोलनमा उत्रिएको समूहलाई प्रहरीले पक्राउ गरेको हो।

निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि कोसी प्रदेशको प्रदेशसभा सचिवालय नजिकको देवकोटा चोकबाट १४ र अस्पताल चोकबाट ३ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।उनीहरूको साथबाट प्रहरीले g गुलेली र ढुंगासमेत बरामद गरेको छ। पक्राउ पर्नेमा थाङ्साङ लावती, दीपा आदाङ्मालगायत रहेका छन्। पक्राउ परेकामध्ये १४ जनालाई प्रदेश प्रहरी गण रानी लगिएको छ। ३ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

कोसी प्रदेश प्रदेशसभाको दोस्रो एवं बजेट अधिवेशन दिउँसो २ बजेका लागि आह्वान गरिएको छ। अधिवेशनका लागि सांसद (प्रदेशसभा सदस्य)लाई संसद (प्रदेशसभा भवन) प्रवेशमा अवरोध गर्ने तयारीसहित पहिचान पक्षधर बिहानैदेखि भेला भएका थिए। प्रदेशसभा वरपर भेला भएका पहिचान पक्षधरले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नामकरणविरुद्ध आन्दोलनरत पक्षले बजेट अधिवेशन बिथोल्ने योजनासहित आन्दोलनको तयारी गरेपछि प्रदेशसभा रहेको स्थान लगायत केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ।प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेको थियो। नामकरणप्रति असन्तुष्टि जनाउँदै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्