रबि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै दायर रिट सर्बोच्चमा दर्ता



काठमाडौं ।सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ ।

आफ्नै प्रशासनले गरेको दरपिठ गर्ने निर्णय बदर गर्दै मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको हो ।

गत २५ वैशाखमा दिएको रिट निवेदनलाई २८ वैशाखमा सर्वाेच्च अदालत प्रशासनले दरपिठ गरेको थियो । तर, प्रशासनको निर्णयविरुद्ध २ जेठमा युवराज पौडेल सफलले दिएको निवेदनउपर सुनुवाइ गर्दै मंगलबार सर्वाेच्च अदालतले लामिछानेविरुद्ध रिट दर्ता गरी अघि बढाउन आदेश दिएको हो ।
सफलले लामिछाने सांसद हुन अझै अयोग्य रहेको रिटमा जिकिर गरेका छन् । लामिछानेले पुनः नागरिकता प्राप्तिको प्रक्रिया पूरा नगरी नागरिकता लिएको र त्यही आधारमा उपनिर्वाचनबाट निर्वाचित भएको उनको जिकिर छ ।

यसअघि, लामिछानेले अमेरिकाको नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्चले गत माघ १३ गते सांसद पद खारेज गरेको थियो । उक्त रिट दर्ता गराएका सफलले नै फेरि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट लगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्