माप्यमा तीनदिने भैंसी पालन तालिम सुरु, सिकेको ज्ञानलाई व्यबहारमा उतार्न अध्यक्ष राईको आग्रह



सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिकाको वडा नं-५ मा स्थलगत भैंसी पालन तालिम सुरु भएको छ। स्थानीय जन उत्थान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र ओखलढुंगाको सहकार्यमा सञ्चालित तीनेदिने सो तालिमको शुक्रबार गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले उद्घाटन गरेका हुन्।

भैंसीका विभिन्न प्रजातीका बिषयमा जानकारी,व्यावसायिक भैंसी पालन, रोग तथा यसको नियन्त्रणका उपायबारे स्थानीय कृषकलाई जानकारी गराउने उद्देश्यले आयोजना गरिएको सो तालिममा पशुबिज्ञ डा.सुशील कुमार ज्ञवाली,जिल्ला पशुसेवा कार्यालय सोलुखुम्बुका प्रमुख भिमलाल तामाङ,पशुबिज्ञ केन्द्र ओखलढुंगाका सूचना अधिकारी धिरेन राई तथा गाउँपालिका पशु शाखा प्रमुख दिपेन्द्र बस्नेतले सहभागीहरुलाई तालिम दिइरहेको सहकारी संस्था अन्तर्गत पशु बिकास कार्यक्रम संचालक समितिका संयोजक हिमाल तामाङले जानकारी दिए।

तामाङका अनुसार गाउँपालिकाको पहलमा पशुबिज्ञ केन्द्र ओखलढुंगाबाट प्राप्त भएको ३५ लाख बजेट अन्तर्गत सो तालिमको आयोजना गरिएको हो। सो कार्यक्रमका लागि छनौट भएका २५ जना पशुपालक कृषक र अन्य गरी सो तालिम झण्डै ७० जना कृषक सहभागी रहेको तामाङले बताए।

तामाङका अनुसार चालू आर्थिक बर्षमा उपलब्ध भएको सो बजेटबाट २५ वटा आधुनिक गोठ निर्माण गर्नुका साथै उन्नत जातका १० वटा रांगा र १५ वटा थोरे खरिद गरेर पशुपालक कृषकलाई उपलब्ध गराईएको छ।गाउँपालिका अध्यक्ष राई,वडाध्यक्ष अविरल वाईवा लगायतका जनप्रतिनिधि र पशुबिज्ञहरुले आजै त्यसको अनुगमन गरेको समेत तामाङले बताए।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राईले पशुपालन कृषकहरुको आम्दानीको मुख्य श्रोत भएको बताउंदै यसलाई ब्यबसायिक ढंगबाट अघि बढाउनु आवश्यक रहेको बताए। परम्परागत ढांचाले अघि बढ्दा कृषि र पशुपालनबाट उपलब्धि हांसिल नभएकै कारण यसलाई व्यवसायिक बनाउन गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउंदै उनले यसबाट लाभ लिन कृषकहरुलाई आग्रह समेत गरे। तालिममा सहभागी हुनु ठुलो कुरा नभएको बताउंदै उनले सिकेको ज्ञान र सीपलाई व्यबहारमा उतार्न सक्नु अहिलेको प्रमुख आवश्यकता रहेको अध्यक्ष राईको भनाई थियो।foto file

प्रतिक्रिया दिनुहोस्