सगरमाथा क्षेत्र भ्रमणका लागि प्रदेशमन्त्री राजभण्डारीले गरे भारतीय पर्यटकलाई आमन्त्रण
बिराटनगर।कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले कोशी प्रदेश भ्रमणमा रहेका भारतिय पत्रकार टोलिलाई सगरमाथा क्षेत्र भ्रमणका लागि आमन्त्रण गर्नुभएको छ । आज मन्त्रालयमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा मन्त्री राजभण्डारीले भारतिय पत्रकार सहित भारतबाट नेपाल भ्रमणमा आउने सम्पुर्ण पर्यटकहरुलाई सगरमाथा क्षेत्रको भ्रमणका लागि निम्तो दिनुभएको हो ।

भारतको बिहार राज्यस्थित प्रेस क्लव पुर्णियाका अध्यक्ष नन्दकिशोर सिंहको नेतृत्वमा रहेको टोलिलाई मन्त्री राजभण्डारीले कोशी प्रदेश भित्र रहेका बिभिन्न पर्यटकिय क्षेत्र, धार्मिक स्थल, प्राकृतिक सौन्दर्यता सहित विश्वको सर्वोच्च शिखर सगरमाथाको क्षेत्रमा रहेका अन्य पर्यटयिक स्थलको समेत प्रचारप्रसारमा सहकार्य गर्दै भारत र नेपालबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउन आग्रह गर्नुभयो ।
भारतिय पर्यटकहरुलाई नेपाल भित्र्याई कोशी प्रदेशभित्र रहेका पर्यटकिय क्षेत्रसम्म सहज र सरल रुपमा भ्रमण गराउन दिगो योजनाको आवश्यक्ता रहेको समेत औल्याउनुभयो । यसका लागि प्रदेश सरकारले पर्यटन ब्यवसायी, उद्यमी, संघसंस्था लगायतसँग छलफल गरिरहेको बताउनुभयो । वहाँले आगामी आर्थिक बर्षभित्र सगरमाथा क्षेत्र जोड्ने सडक मार्गको ट्रयाक ओपन गरी सवारी साधन सहज रुपमा आवतजावत गराउन काम धमाधम भई रहेको समेत जानकारी गराउनुभयो ।
भेटका क्रममा कोशी प्रदेशका पर्यटन ब्यवसायी भविष श्रेष्ठले कोशी प्रदेशबाट सगरमाथा तथा यस आसपासका क्षेत्रमा भ्रमणका लागि जान आउन नै समस्या रहेको बताउँदै बिराटनगर तथा भद्रपुर बिमानस्थलबाट लुक्ला वा फाप्लु बिमानस्थलमा आन्तरिक उडान नियमित गर्न सुझाव दिनुभयो । सडकको सहज पहुँच नहुँदा पर्यटकहरु चाहेर पनि त्यस क्षेत्रमा जान नपाएको गुनासो गर्दै श्रेष्ठले आगामी दिनमा सडक तथा हवाई दुवै मार्ग संचालनमा आए भारतीय पर्यटकको संख्यालाई उल्लेख्य बृद्धि गर्न सक्ने बताउनुभयो ।
भारतीय पत्रकार टोलिको नेतृत्व गरिरहनु भएका नन्दकिशोर सिंहले कोशी प्रदेशको यस भ्रमणले आफुहरुलाई उत्साहित एवं आकर्षित बनाएको बताउदै भारत फर्केर यस बिषयलाई रेडियो, टेलिभिजन तथा पत्रपत्रिका मार्फत प्रचारप्रसार गरी आफ्नो राज्य तथा भारतका अन्य क्षेत्रका पर्यटकलाई कोशी प्रदेश भ्रमणका लागि आउन पहल गर्ने जिकिर गर्नुभयो ।
सो टोलिले यस पटक भेडेटार, धरान, धनकुटा लगायत आसपासका पर्यटकिय तथा धार्मिक क्षेत्रको भ्रमण गरेका छन् ।


