कांग्रेस सभापति देउवाका अर्का बिश्वासपात्र शेर्पाबिरुद्ध पनि पक्राउ पुर्जी जारी



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका तत्कालीन संविधानसभा सदस्य (पूर्व साँसद) आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्र व्यक्तिको रुपमा समेत चिनिएका शेर्पाले सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडसँग मिलेर आर्थिक लेनदेनमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीको भनाई छ । यो प्रकरणमा छानविन र पक्राउ सुरु भएपछि शेर्पाले आफूले रकम उठाएका केही व्यक्तिहरुको रकम फिर्ता समेत गर्न थालेका थिए ।
काठमाडौ जिल्ला अदालतले आजै पूर्ब गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा बिरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।गृहमन्त्री थापाका सल्लाहकार रहेका इन्द्रजित राई पक्राउ परेपछि अनुसन्धान गर्दा प्रतीक थापा पनि संलग्न रहेको प्रमाणहरू भेटिएपछि थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । प्रतीकले यसअघि विज्ञप्ति निकालेर आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका थिए ।

नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व गृह सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई लगायत १२ जना पक्राउ परिसकेका छन् । पक्राउ पुर्जी जारी भएका तत्कालीन उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा निरज राई फरार रहेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन सुरु भएपछि जनस्तर र राजनीतिक दलकै तर्फबाट निष्पक्ष छानबिन र दोषीमाथी कारबाहीको माग गर्दै सरकारलाई दबाब बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्