पूर्बगृहमन्त्री खाँडपछि उनका स्वकीय सचिव पनि पक्राउ



काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँडका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । प्रहरीले उनलाई आज बिहान जडीबुटीबाट पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि पूर्व गृहमन्त्री खाँडका निजी सचिव केसीलाई पक्राउ गरेको काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।साथै मैजुबाहालबाट पक्राउ बालकृष्ण खाँड र उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको उनले बताए ।

यो सँगै उक्त घटनामा आरोपित ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि मङ्गलबार काठमाडौंको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।

त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ ।

उक्त घटनामा आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनी विरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्