चितवन-२ को मतगणना केहीबेरमा सुरु हुंँदै



काठमाडौं।चितवन- २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले दिउँसोबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

आइतबार राति बसेको सर्वदलीय बैठकबाट सहमति जुट्न नसकेपछि आज पुनःबसेको बैठकले दिउँसोबाट मतगणना गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

उनका अनुसार बैठकले कार्यालयमा परेको उजुरी आयोगमा पठाउने, सामाजिक सञ्जालमा प्रयोग गरिएका अशिष्ट शब्दका विषयमा आवश्यक कारबाही गर्ने, मतगणना क्षेत्र मुख्य निर्वाचन अधिकृतको नियन्त्रणमा राखेर गणना अघि बढाउनेलगायतका निर्णय भएका छन् ।

यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा थिए । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले पदबाट हटाउने आदेशपछि उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्