बारा- २ मा गडबडीको प्रयास भइरहेको आरोप , दुईवटा मतपत्रसहित जसपा नेता पक्राउ
काठमाडौं।जनमत पार्टीका अध्यक्ष सिके राउतले उपचुनावका क्रममा बाराका विभिन्न ठाउँमा जसपाले बुथ कब्जा गरेको आरोप लगाएका छन् । संचारक्रमीहरूसँग उनले भने, ‘तीन चार ठाउँमा बुथ कब्जा भएको छ । मान्छेलाई डर त्रास दिने काम भइरहेको छ । खास गरी जसपाका कार्यकर्ताहरूले हाम्रा कार्यकर्ताहरूलाई हिँडडुल गर्न नदिने भइरहेको छ ।’

अध्यक्ष राउतले उपचुनावका क्रममा बारा क्षेत्र नम्बर २ का विभिन्न मतदान केन्द्रमा जसपाले बुथ क्याप्चर गरेको आरोप लगाएका हुन् । झिटकैयासहित केही बुथहरु अहिले पनि कब्जा पनि जसपाको कब्जामा रहेको उनको आरोप छ ।
यसैगरी, बारा क्षेत्र नम्बर २ का नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा २ मा मतदातालाई प्रभावित पार्ने प्रयास भएको आरोप लगाएका छन् ।
उनले आफूले विभिन्न स्थानमा मतदातालाई प्रभावित पार्न रकम बाँडिएको सूचना पाएको बताएका छन् । तर, मतदाताले एमालेलाई मत दिने उनको दाबी छ ।
‘मतदानको ट्रेन्ड हेर्दा एमालेको पक्षमा मतदान देखिन्छ । केही स्थानमा मतदातालाई प्रभावित पार्न रकम बाँडिएको सूचना समेत आएको छ । यति हुँदाहुँदै पनि जनताले हामीलाई विश्वास गरेर मत दिन्छन्,’ उनले भने।
उता, बारा– २ को उपनिर्वाचन अन्तर्गत मतदान कार्य जारी रहेको छ । सोही क्रममा प्रहरीले दुई वटा मतपत्रसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
बाराको देवताल गाउँपालिका–७ को वडा कार्यालयको मतदान केन्द्रमा प्रहरीले २ वटा मतपत्रसहित एक जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रकाशसन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार रामसागर यादवसँग दुई वटा मतपत्र फेलापरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यादव जनता समाजवादीका नेता एवं जिल्ला समन्वय समितिका सदस्य हुन् ।

