चितवन–२ तनहुँ–१ र बारा–२ मतदान सुरु, निर्धक्क भइ भोट खसाल्न मतदातालाई निर्बाचन आयोगको आग्रह
काठमाडौं।उपनिर्बाचन हुने चितवन–२ तनहुँ–१ र बारा–२ मा प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने मतदानमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न विशेष सजगता अपनाईएको उल्लेख गर्द निर्वाचन आयोगले निर्धक्क भइ भोट खसाल्न मतदातालाई आग्रह गरेको छ ।

चितवन–२ मा ४३ मतदानस्थलमा १ सय ३८ मतदान केन्द्र छन्,तनहुँ–१ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र र बारा–२ मा १ लाख ५ हजार ११ मतदाताका लागि ८२ मतदानस्थलमा १ सय ३६ मतदान केन्द्ररहेको आयोगले जनार्को छ । त्यहाँ दलका ११ र स्वतन्त्र २३ जना गरी ३४ उम्मेदवार छन् । उपचुनाव हुने क्षेत्रमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बारा क्षेत्र नं २, चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई दोहोरो नागरिकता प्रकरणमा सर्वोच्च अदालतले गएको माघ १३ गते दोषी ठहर गरी सांसद पद खारेज गरेपछि चितवन–२ मा उपचुनाव हुन लागेको हो ।तनहुँ–१ मा चुनाव जितेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि र बारा–२ मा जसपाका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि उपचुनाव हुन लागेको हो ।

