साझा पहिचानका लागि कोशी प्रदेश नामाकरण गरिएको हो : मन्त्री राजभण्डारी
बिराटनगर। कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले निर्वाचनमा प्राप्त गरिने दुई तिहाई मतको आधारमा संवैधानिक र कानूनी प्रकियाद्वारा प्रदेशको नाम परिवर्तन गर्न सकिने बताएका छन्।

विभिन्न जातजाति र भाषाभाषीहरुको बसोबास रहेका कारण सबैको साझा पहिचानका लागि बर्तमान प्रदेशसभाले कोशी प्रदेश नामकरण गरेको उल्लेख गर्दै बबरसिंह–देवकुमारी थापा सेवा गुठी विराटनगरले आज आयोजना गरेको स्रष्टाहरुलाई सम्मान कार्यक्रममा सम्बोधन गर्दै मन्त्री राजभण्डारीले सो कुरा बताएका हुन्।एकले अर्कालाई गाली गरेर र एउटा अस्तित्व अर्काले अस्वीकार गरेर पहिचान स्थापित नहुने बताउंदै उनले साझा नाममा सबैले अपनत्व ग्रहण गर्नुपर्ने बताए।कोशी प्रदेश
नामाकरणबिरुद्ध भइ रहेको आन्दोलनप्रति लक्षित गर्दै मन्त्री राजभण्डारीले शान्तिपूर्ण बाटो हुंँदाहुँदै आक्रोश र उत्तेजनाले कसैको पनि हित नगर्ने भएकाले संयमित हुन आग्रह गरे।
प्रमुख अतिथि मन्त्री राजभण्डारीले कार्यक्रममा २०५३ को मदन पुरस्कार प्राप्त गर्नु भएका समालोचक प्रा.डा. दयाराम श्रेष्ठ र सङ्गीतकरा कुशेश्वर राइलाई सम्मानित गरेका थिए । देवकुमारी थापा स्मृति सम्मान बाट प्रा.डा. श्रेष्ठलाई ५१ हजार एवं बबरसिंह थापा स्मृति सम्मानबाट राईलाई नगद २५ हजार एवं सम्मानपत्रवाट सम्मान गरिएको छ ।
कार्यक्रममा गुठीका अध्यक्ष कविराज न्यौपाने, साहित्यकारहरु प्रमोद प्रधान,दधिराज सुवेदी, विवश पोखरेल, दिनेश सुवेदी र हरिमोहन श्रेष्ठले साहित्य ,कला एवं संस्कृतिको विकासबाट मुलुकको समृद्धि झल्किने धारणा राखेका थिए । सोही अवसरमा मन्त्री राजभण्डारीले प्र्रमोद प्रधानले सम्पादन गर्नु भएको ‘देवकुमारी थापाका समग्र कथा’ पुस्तकको विमोचन गर्नुभयो ।

