मन्त्री राजभण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मानित
बिराटनगर।कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी राष्ट्रिय पुरस्कार २०८० बाट सम्मानित हुनुभएको छ । दोर्ण–पद्य–प्रेम राजभण्डारी मेमोरियल ट्रष्ट, बाग्लुङ्गले मन्त्री राजभण्डारीलाई राजभण्डारी राष्ट्रिय पुरस्कारद्वारा सम्मान गरेको हो ।

राजनीतिमा संलग्न रही सामाजिक, शैक्षिक, पर्यटन, उर्जा, स्वास्थ्यलगायतका क्षेत्रको विकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दै आउनु भएका मन्त्री राजभण्डारीलाई ट्रष्टले राजनैतिक बाहेकका क्षेत्रहरु रेडक्रस, सामाजिक संघसंस्था, धार्मिक एवं साँस्कृतिक क्षेत्रमा समेत योगदान पुर्याउंदै आउनु भएकोमा सम्मान गरेको जनाएको छ । राजभण्डारी भक्तपुरबाट बाग्लुङ्ग पुगेको २१८ औं बर्ष गाँठको अवसरमा ट्रष्टका तर्फबाट मन्त्री राजभण्डारीलाई सम्मानपत्र सहितनगद २५ हजार तथा दोसल्ला ओढाई सम्मान गरेको अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो ।
२०७८ मा स्थापना भएको ट्रष्टले हरेक बर्ष राष्ट्रका बिभिन्न क्षेत्रमा उल्लेखनिय टेवा पुर्याउने राजभण्डारीहरुलाई सम्मान गर्दै आएको संरक्षक रामकुमार राजभण्डारीले जानकारी दिनुभयो । राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनु भए पश्चात मन्त्री राजभण्डारीले यस सम्मानले आफुलाई थप जिम्मेवार बनाएको जिकिर गर्दै आगामी दिनमा यस सम्मानको इज्जतलाई थपउचाईमा पुर्याउने गरी काम गर्ने बताउनुभयो । वहाँले बिगतदेखि नै सेवाभाव मनमा राख्दै कार्य गरेकोे तथा अझै पनि थुप्रै सामाजिक विकासका कार्य गर्न बाँकी रहको उल्लेख गर्नुभयो ।
यसैबीच मन्त्री बुद्धिकुमार राजभण्डारीले दोर्ण–पद्य–प्रेम राजभण्डारी मेमोरियल ट्रष्ट, बाग्लुङ्गलाई ५० हजार रुपैंया सहयोग गर्नुभएको छ । राष्ट्रिय पुरस्कार अन्तर्गत सम्मान स्वरुप प्राप्त भएको २५ हजार नगदमा आफ्नो तर्फबाट पुनः २५ हजार रुपैंया थप गरी ट्रष्टको थप ब्यवस्थापन र अन्य सामाजिक कार्यका लागि ५० हजार ट्रष्टलाई हस्तान्तरण गर्नुभयो । ट्रष्टलाई मन्त्री राजभण्डारीकातर्फबाट सहयोग स्वरुप प्राप्त भएको ५० हजार रुपैंया आगामी दिनमा सामाजिक क्षेत्रमा प्रयोग गरिने ट्रष्टले जनाएको छ ।

