काठमाडौं संसारकै प्रदुषित सहरको एक नम्बर सूचीमा !
काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा पुगेपछि विज्ञले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । हावाको प्रदूषण मापन गर्ने एयर भिजुअल सूचक आईक्यू एयरले काठमाडौंलाई संसारकै प्रदूषित सहरको सूचीको पहिलो स्थानमा राखेको हो ।
शनिबार साँझदेखि काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो, दोस्रो र तेस्रो स्थानमा घटबढ भइरहेको छ । वायु प्रदूषण बढिरहेकाले सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञको सुझाव छ ।
पछिल्लो समय वनमा लागेको डढेलो, भारतको उत्तर प्रदेशमा बालिएको गहुँको भुसको धुवाँको असर काठमाडौंसहित नेपालका विभिन्न सहरहरूमा परेको विज्ञले बताएका छन् जलवायु तथा विपद्विज्ञ डा. धर्म उप्रेतीले वाग्मती प्रदेश र वरपरको डढेलोका कारण काठमाडौं प्रदूषित सहरमा पहिलो नम्बरमा परेको बताए । प्रदूषण बढ्नुमा आगलागी र सडकको धुवाँधुलो प्रमुख कारण रहेको उनको भनाइ छ ।विज्ञ उप्रेतीले नेपालमा अहिले पश्चिमी वायुको प्रभाव कम रहेकाले पनि हावा बहन नपाएको बताए । त्यसले उपत्यकामा प्रदूषण बढेको उनले उल्लेख गरे ।
आजदेखि पश्चिमी वायु नेपालमा प्रवेश गर्ने उनले बताए । प्रदूषण हट्न भने अझै केही दिन लाग्ने उनको भनाइ छ ।उनका अनुसार अहिले काठमाडौंमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले तोकेको भन्दा २२ गुणा बढी प्रदूषण छ ।
विज्ञ उप्रेतीले प्रदूषणबाट बच्नका लागि सरकारले आमनागरिकलाई मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्नुपर्ने सुझाव दिए । धुवाँ निकाल्ने र मापदण्ड पालना नगरेका सवारीसाधन केही दिनका लागि सञ्चालन गर्न नदिन उनले सरकारसँग आग्रह पनि गरे ।
निर्माणका क्रममा सडक अलपत्र बनाइँदा धुवाँ र धुलो धेरै भएकाले सडक कालोपत्र गर्न र कालोपत्र गर्न नसके भत्काउने काम बन्द गर्नुपर्ने उनले बताए ।