राजभण्डारीको घर तोडफोड : प्रायोजित प्रोपोगन्डा गरेर आपराधिक गतिविधि नगर्न सोलु एमालेको आग्रह



सोलुखुम्बु।नेकपा एमाले सोलुखुम्बुले कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको घरमा भएको तोडफोड निन्दनीय र खेदजनक भएको बताउंदै तोडफोडमा संलग्नहरुलाई प्रचलित कानून बमोजिम कारबाहीका गर्न सरकारसंग माग गरेको छ।

कोशी प्रदेशको नामकरणप्रति असन्तुष्टि समूहले मन्त्री राजभण्डारीको घरमा तोडफोड गरेपछि जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले बुधबार बिज्ञप्ति जारी गर्दै सरकारसंग त्यस्तो माग गरेका हुन।

प्रदेश नामाकरणको बिषय राजनीतिक भएको र यसलाई राजनैतिक रुपमै यसको समाधान खोज्नुपर्ने भन्दै बास्तोलाद्वारा जारी बिज्ञप्तिमा सस्तो लोकप्रियताको लोभमा गरिएका यस्ता प्रायोजित प्रोपोगन्डाहरुले बहुजातीय,बहुभाषिक,बहुधार्मिक र बहुसांस्कृतिक पहिचान झल्कने सामाजिक सद्भाव सहित मिलेर बसेको समाजलाई बिभाजित गर्दै मुडभेडको स्थितमा पुर्‍याउन सक्ने भन्दै चिन्ता समेत व्यक्त गरिएको छ।

परिवार र समाजलाई डर धाक धम्की देखाउंदै आतंकित पार्ने गरि गरिएको यसप्रकारको आपराधिक गतिविधि तत्काल बन्द गर्न माग गर्दै बास्तोलाले समस्या समाधानको बाटोमा लाग्न सम्बन्धित पक्षलाई आग्रह समेत गरेका छन्।

प्रदेशमन्त्री राजभण्डारीको पेप्सीकोलास्थित घरमा बुधबार बिहान करिब ८:३० बजे आक्रमण गर्दै कालो झण्डा राख्ने प्रयास गरिएको थियो । राजभण्डारी पहिचान बिरोधि भएको बताउंदै उनलाई सचेत गराउन उनको घरमा आफुहरुले कालो झण्डा राख्ने प्रयास गरेको कोशी प्रदेश नामाकरणबिरुद्ध आन्दोलनरत सोलुखुम्बुका पहिचान पक्षधरहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्