राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो दुई करोड घूसकाण्डमा मुछिएका सांसद श्रेष्ठलाई कारबाही
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ । सो पार्टीले श्रेष्ठलाई सांसद तथा पार्टीको पदमा रहेर कुनै पनि काम काज नगर्ने गरी कारबाही गरेको हो ।
रास्वापाबाट समानुपातिक सांसद रहेका श्रेष्ठले दुर्गा प्रसाईंसँग आर्थिक लेनदेन गरेको अडियो बाहिर आएको थियो । उनलाई तत्कालका लागि निलम्बन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले बताए ।

अडियोमा उनले आफू स्वास्थ्य मन्त्री बन्न लागेको र त्यसका लागि पार्टी सभापति रवि लामिछानेलाई दुई करोड दिनुपर्ने भएकाले पैसा चाहिएको बताएका छन्। “दुई-साढे दुई करोड भनेका छन्। अहिले एक करोड दिए पनि मान्छन्। बाँकी पछि चेक दिए पनि मान्छन्।” उनले भनेका छन् ।
सांसद श्रेष्ठको कुरा सुनेपछि प्रसाईंले भनेका छन्, “तपाईलाई मैले के ग्यारेन्टी गरे भने दुई करोड दिने ग्यारेन्टी गरे। पिर नमान्नुस्, उनीहरूसँग टाइम माग्नुस्, म दिने भएँ।”

