आदर्श पत्रकारिता पुरस्कार नेपाललाई प्रदान गरिने
काठमाडौं।नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको आदर्श पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ ।

शाखाको बिहीबार बसेको कार्यसमितिको बैठकले आगामी शनिवार हुने शाखाको २३ औं साधारणसभामा शाखाका संस्थापक अध्यक्षसमेत रहेका नेपाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। उनी पत्रकार महासंघ केन्द्रीय समितिका पूर्व अध्यक्षसमेत हुन् ।
शंखरापुर नगरपालिकामा गत ३ र ४ चैतमा बसेको बैठकद्वारा स्थापित सो पुरस्कार कार्यसमिति बैठकले सो पुरस्कार शाखाका संस्थापक अध्यक्ष नेपाललाई प्रदान गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका कार्यसमिति सदस्य रमेश कुमार बोहोराले जानकारी दिए।पुरस्कार शनिबार हुने शाखाको २३ औं साधारणसभामा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माको हातबाट प्रदान गरिनेछ ।