भीमसेन मुर्ति सम्बन्धि भिडियो सार्वजनिक



ललितपुर। ललितपुर जिल्लाको सुनाकोठीमा स्थापना गरिएको संसारकै सबैभन्दा अग्लो दाबी गरिएको भीमसेन मुर्तिलाई लिएर बनाइएको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनाकोठिका ९८ वर्षीय जेष्ठ महिला धनमाया महर्जनको उपस्थितिमा शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा म्युजिक भिडियोको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा बोल्दैै वरिष्ठ कलाकारद्वय श्रेष्ठ र आचार्यले धार्मिक सांस्कृतिक सम्पदाहरुले नै नेपालको पहिचान बनेकोमा जोड दिँदै सुनाकोठीको धार्मिक सम्पदामा बनेको गीत गाउन पाउँदा खुसी लागेको बताए । कार्यक्रममा सुनाकोठि समाज परिवारका अध्यक्ष विनोद डंगोलले भिमसेन मुर्ति स्थापना हुँदासम्मको अनुभव सुनाए ।

सुनाकोठी समाजका अध्यक्ष डंगोलले मच्छेगाउँको एउटा खोंचबाट ल्याइएको ६० टनको सिङ्गो ढुङ्गाबाट धेरै मेहनतपछि मूर्ति बनाउन सफल भएको जानकारी गराए । यस्तैगरी सिने पत्रकार विजयरत्न तुलाधारले म्युजिक भिडियोको समिक्षात्मक टिप्पणी गरेका थिए भने सुरेन्द्र तुलाधरले म्युजिक भिडियो निर्देशन गर्दाको अनुभव सुनाए ।

म्यूजिक भिडियोका निर्देशक सुरेन्द्र तुलाधरले म्यूजिक भिडियोमा १६ जना गायक, गायिकाहरुको साथै २ सय भन्दा बढि स्थानीय वासिन्दाको अभिनय रहेको जानकारी गराए ।
सुनाकोठीमा बालकुमारी चौरसँगै १२ फिट अग्लो भीमसेनको मूर्ति बनाई स्थापना गरिएको छ । हाल भीमसेनको मन्दिर भने निर्माणको चरणमा रहेको छ ।

भीमसेनको उक्त १२ फिट अग्लो मूर्तिलाई संसारकै सबैभन्दा अग्लो भीमसेनको मूर्ति दाबी गरिएको छ । सोही भीमसेनको संसारभरीमा प्रचार प्रसार गर्ने उद्देश्य लिएर गीत र म्यूजिक भिडियो निर्माण गरेको गीतका संगीतकार साथै रचनाकार रुपेश डंगोलले बताए ।

गीतमा मह जोडीको साथमा चर्चित गायकहरु प्रवेशमान शाक्य, जेम्स प्रधान, बबिन प्रधान, भीम तुलाधर, ज्योति घिमिरे, बुद्ध सायमि, सचिन रौनियार, भुपेन्द्र बज्राचार्य, विजय गुरुङ, कविन्द्र श्रेष्ठ, यमन श्रेष्ठ, रुपेश डंगोल र लसता जोशीले स्वर दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्