शम्भु गजुरेलका चार मुक्तक




मुक्तक १
माथि जान प्रभु पाउमा तेल दलेको छ
कप्टी पाशा फ्याँक्नेको मेल चलेको छ
आवारा पुजीवादले आगो लगाइदिँदा,
खेताला र भरियाको बस्ती जलेको छ ।
मुक्तक २
तिम्रो आँखाको बयान गरौँला एकदिन
तिम्रो ओठमा लाली भरौँला एकदिन
धुर्तताको बारुदले भरिएको त्यो छाती,
विस्फोट हुँदा जलेर नै मरौँला एकदिन ।
मुक्तक ३
उज्यालोको प्रतीक्षामा रुन्छ बस्ती यहाँ
बत्ती बेच्दै कमाउने हुन्छ गस्ती यहाँ
नाङ्गो आङ भोको पेट र रात देखाएर,
खेतालाको ताली खादै चल्छ मस्ती यहाँ ।
मुक्तक ४
घडेरी बेच्न जङ्गल खनेको छ मेरो देशमा
भ्रष्टाचारीले नोट गनेको छ मेरो देशमा
जनता पलायन भएर गाउँ मासिएपनी,
पार्टी कार्यालय भव्य बनेको छ मेरो देशमा ।

बेलकोटगढी ९
नुवाकोट

प्रतिक्रिया दिनुहोस्