उपन्यासकार ग्रीष्म अविरलको नवीनतम् कृति ‘गोर्खे’ उपन्यास सार्वजनिक



काठमाडौं । उपन्यासकार ग्रीष्म अविरलले लेखेको नवीनतम् कृति ‘गोर्खे’ उपन्यास सार्वजनिक गरिएको छ ।

ओरिएन्टल प्रकाशनले बजारमा ल्याएको यो कृतिको अखिल नेपाल लेखक संघको आयोजनामा भएको कार्यक्रममा प्रगतिशील लेखक संघका अध्यक्ष डा.मधुसूदन गिरीले विमोचन गरे । विमोचन समारोहमा बोल्दै डा. गिरीले नेपाली साहित्यमा नयाँ कृति जन्मिएको बताउँदै लेखक अविरलको लेखन आकर्षक रहेको बताए । उनले भने, ‘अर्ध–डायस्पौरिक कृतिको रुपमा गोर्खे आएको छ । यसले नेपाली समाजको समेत कलात्मक ढंगले चित्रण गरेको छ ।’

समालोचक तेजविलास अधिकारीले भाषाशैली र भौगोलिक यात्रालाई मात्र केन्द्रबिन्दु बनाएर हेर्दा उपन्यासमा स्थानीय रंगको सुन्दर चित्रण गरिएको छ । उनले भने, ‘उपन्यासको कोटिमा राख्न सकिन्छ भने मान्छेका साझा सुखदुःख र चाहनाहरूलाई खुलेर व्यक्त गर्ने पात्रहरू काल्पनिक भएर पनि वास्तविक लाग्दछन् ।’

समालोचक अधिकारीले समयका हिसाबले कालु पाण्डे, दामोदर पाण्डे आदिको कालखण्डको स्मरणदेखि वर्तमान समयलाई उपन्यासले छोएको छ भने राजनीतिक परिवेशका हिसाबले सामन्तवादी समाजदेखि राणा, पञ्चायत, बहुदल–जनयुद्धकाल र गणतन्त्रकालसम्मलाई सिलसिलाबद्ध रूपमा चित्रण गरेको बताए । उनले उपन्यासभित्र धेरै हिसाबले विषयको विन्यासलाई कलात्मक बनाउने कोशिस गरिएको सुनाए । उनले भने, ‘जम्मा चौध वर्षको उमेरमा घर छोडेर हिँडेको गोर्खेको झन्डै छ दशक अर्थात् सम्पूर्ण जीवन कहानी यस उपन्यासका कथ्य र विश्लेष्य विषय बन्न पुगेको छ । उपन्यासमा मनकुमारी, चमेली, आसामी युवती, गोमा, रीनादेवी जस्ता नारी पात्रहरू क्रमशः गोर्खेको व्यक्तित्वले आकर्षित भई कुनै न कुनै हिसाबले सम्पर्कमा आउँछन् ।’

अखिल नेपाल लेखक संघका अध्यक्ष डा. धनप्रसाद सुुवेदीले गोर्खे विदेशमा काम गर्ने नेपालीको अर्को नाम भएको बताए । उनले भने, ‘देवकोटाको मदन रुपैयाँ कमाउन ल्हासा गएको थियो । देवकोटा स्वयम् पनि केही समय भारतको वनारसमा बसेर जीविका चलाएका थिए । प्रस्तुत उपन्यासको गोर्खे जागिर खान भारतको नागालैन्ड गएको छ । यसका उपन्यासकार स्वयम् पनि जागिर खानका लागि अफ्रिकातिर पुगेका छन् ।’ सुवेदीले उपन्यासमा गोर्खेका रुपमा नेपाली जीवनको कथा भनिएको विचार व्यक्त गरे । उनले नेपाली समाजको यथार्थ पक्षलाई उपन्यासले केलाएको जिकिर गरे ।
सो कार्यक्रममा लेखक डा. कौशिला रिसालले नेपाली साहित्यमा ग्रीष्म अविरलले नवीनतम् कृति ल्याएको बताइन् । उनले नेपाली समाजको वास्तविकतालाई उपन्यासले कलात्मक रुपमा उनेको धारणा व्यक्त गरिन् ।

ओरिएन्टल प्रकाशनका हरि गौतमले गोर्खे उपन्यासमा नेपालको सामाजिक विषयवस्तुलाई आधार बनाइएको बताए । उनले भने, ‘सामाजिक विषयवस्तुलाई आधार बनाएर लेखिएको उयन्यास हो । यसमा लेखिएका विषयवस्तु नेपालको सामाजिक जनजीवनका विषय रहेका छन् । इतिहासलाई अध्ययन, अनुसन्धान एवं मौलिक चिन्तनका माध्यमबाट हेरिएका कतिपय विषयवस्तु सामान्य पाठकले बुझ्न सक्ने र बुझाउन सक्ने किसिमले लेखिएको नवीन प्रयोग हो ।’

उपन्यासकार ग्रीष्म अविरलले कृति पहिलो भएकाले धेरै कुरा छुटेका सक्ने भन्दै आगामी दिन अझ सशक्त ढंगले लेखनमा आउने विचार व्यक्त गरे । उनले बुबाको जिन्दगीको घटना यथार्थ भए पनि यसमा उल्लेख गरिएका कतिपय घटना र पात्रहरु काल्पनिक रहेको बताए । उनले भने, ‘यदि मिल्न गएमा संयोग मात्र हुनेछ ।’ सो कार्यक्रममा लेखक रमेश खतिवडाले नेपाल वाङ्मयमा राम्रो कृति आएको बताउँदै उपन्यासकारलाई पढेर सल्लाह दिन आग्रह गरे ।

सो कार्यक्रममा कलाकार जुलुमलाल चित्रकार, साहित्यकार शितल गिरि, जसध्वज गुुरुङ, राधेश्याम लेकाली, खोलाघरे साहिंलो, जय छाङ्छा, शिवराम खड्का, गणेश खतिवडा, बखतबहादुर थापा, राधा दुलाल कार्की, डा. विष्णुु राई, संगीता थापा, प्रकाश तिवारी लगायतका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्