कोइराला र थापाको लडाइँले कांग्रेस संसदीय दलको नेता बन्न देउवालाई सहज
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयन हुन सभापति शेरबहादुर देउवालाई सहज हुने देखिएको छ।

उमेदवारी दर्ताको समय आउनै लाग्दा समेत संस्थापन इतर समूहमा आपसी सहमति हुन नसक्दा संस्थापनको तर्फबाट सभापति देउवालाई संसदीय दलको नेता बन्न सहज हुने देखिएको हो। कांग्रेस संसदीय दलको नेताको निर्बाचन भोलि हुँदै छ । संसदीय दलको नेता बन्ने दौडमा संस्थापनइतर पक्षबाट नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा आकांक्षी छन् । संस्थापनबाट सभापति शेरबहादुर देउवा एकल आकांक्षी हुन् ।
संस्थापनइतर पक्षका नेताहरूले मिलेर अघि बढ्न डा. कोइराला र महामन्त्री थापालाई सुझाव दिएका छन् । संसदीय दलको नेता बन्नका लागि दुवैले दाबी गरेपछि १५ औँ महाधिवेशनलाई पनि दृश्यमा राखेर अघि बढ्न नेताहरूले सुझाव दिएका हुन् ।
हिजो भएको बैठकमा नेताहरूले दुईमध्ये को उमेदवार बन्ने भन्ने निष्कर्षमा पुग्न आज बिहानसम्मको समय दिएका थिए ।
अहिले हार्ने निश्चितजस्तै भएको संसदीय दलमा कोइराला र थापा दुवै लड्दा आगामी महाधिवेशनमा समेत असर पर्ने भन्दै त्यसलाई पनि हेक्का राखेर सहमतिमा पुग्न उनीहरूलाई सुझाएका थिए ।
सोमबार बिहानैदेखि दलको नेताको उमेदवार चयन गर्नेबारे कांग्रेसको संस्थापनइतरका नेताहरू चरणबद्ध छलफलमा जुटेका थिए । आज बिहान ८ बजे पुनः छलफल हुने बताइएको छ ।
महामन्त्री थापाले मंसिर ४ गते भएको निर्वाचनमा आगामी सरकारको प्रधानमन्त्रीको उमेदवार भनेर भोट मागेका थिए । उता, कोइराला पार्टीको गत महाधिवेशनमा संस्थापनइतरको नेतृत्व गर्दै सभापति पदका लागि देउवासँग प्रतिस्पर्धा गरेका थिए । थापा उनकै प्यानलबाट महामन्त्रीमा विजयी भएका थिए । त्यसैले सिनियरका हिसावले पनि आफूले मौका पाउनु पर्नेमा कोइरालाको जोड छ ।
निर्वाचन समितिले उमेदवारी दर्ताका लागि दिउँसो २ देखि ३ बजेसम्मको समय निर्धारण गरेको छ ।

