नवनिर्बाचित प्रतिनिधिसभा सदस्यहरुको सपथ पुस ७ गते ११ बजे हुने



काठमाडौं।संघीय संसद प्रतिनिधिसभाका नवनिर्बाचित सदस्यहरुको सपथ पुस ७ गते ११ बजे संसद भवन नयाँ बानेश्वरमा हुने भएको छ।

संसद सचिवालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै पुस ७ गते बिहान ११ बजे शपथ ग्रहणको दुई घण्टा अघि उपस्थित हुन सांसदहरूलाई अनुरोध गरेको छ। शपथका लागि राष्ट्रिय पोशाक वा आआफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थिति हुनुपर्ने सचिवालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि संघीय कानून बमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था छ।

शपथ ग्रहण कार्यक्रममा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाण पत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एवं फोटोसहित दुई घण्टा अगावै उपस्थित हुन अनुरोध गरेको छ।

सूचनामा भनिएको छ, ‘संघीय संसद प्रतिनिधि सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम तीन दिन अगावै संघीय संसद सचिवालयमा उपलब्ध गराउन हुन समेत यो सूचना प्रकाशित गरिएको छ। साथै सबै जिल्ला प्रशासन कार्यालयले यसै सूचनालाई आधार मानी आआफ्नो जिल्लाका प्रतिनिधि सभाका माननीय सदस्यहरूलाई उल्लिखित जानकारी गराइदिने व्यवस्था हुन समेत अनुरोध गरिन्छ।’

प्रतिक्रिया दिनुहोस्