भारतले मुलुकलाई थप संकटतर्फ धकेल्ने प्रयास गरिरहेको छ : बिजुक्छे
काठमाडौं।नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतको छायाँमा मुलुकको कार्यपालिका, न्यायपालिकासमेत जकडिएकाले त्यसविरुद्ध देशभक्त शक्तिले संघर्ष गर्नुपर्ने बताएका छन् ।

भक्तपुर नगरपालिकाको ७३औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा भारतले न्यायालयभित्रैबाट राष्ट्रपति बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाउंदै अध्यक्ष बिजुक्छेले त्यसविरुद्ध लड्न सबैपक्ष तयार रहनुपर्नेमा पनि जोड दिए। उनले प्रधानमन्त्री बनाउने र निर्वाचनमा जिताउने कामसमेत हालसम्म भारतकै निर्णयअनुसार हुने गरेको जिकिर गरे ।
‘अहिले हामी सुन्छौं, न्याय प्रशासनलाई राजनीतिबाट अलग राख्नुपर्ने तर न्याय प्रशासनका एक जनालाई जसरी प्रधानमन्त्री बनाइयो, अहिले राष्ट्रपति बनाउने कुरा चलिरहेको छ । यो हेर्दाखेरी सरल छ । तर, यो धेरै जटिल विषय हो । त्यसकारण कार्यपालिका र व्यवस्थापिका समेतमा भारतको छायाँ छ । यहाँ अन्तर्राष्ट्रिय छायाँ परेको हुनाले देशलाई अझ संकटमा पुर्याउने सम्भावना भएको हुनाले संघर्षको निम्ति सधैं सबै जना तयार रहन म आह्वान गर्छु,’ बिजुक्छेले भने ।

