हिमालय मावि बासामा पाँच दिने शिक्षक क्षमता अभिवृद्धि तालिम सुरु
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।रीड नेपालको आयोजना तथा माप्यदुधकोशी गाउँपालिकाको समन्वय तथा सहकार्यमा हिमालय मावि बासामा पांच दिने शिक्षक क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।

शुक्रबारबाट सुरु सो तालिममा अंग्रेजी,गणित,विज्ञान,सामाजिक र आइसिटी विषयलाई समेटेर प्रशिक्षण गरिने रीड नेपालले जनाएको छ ।सामुदायिक विद्यालयमा प्राय यी विषयको सिकाइ उपलब्धी कम हुने र धेरै विद्यार्थीहरु यी विषयमा कमजोर हुने भएकोले बालबालिकाको सिकाइ उपलब्धी वृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरेको रीड नेपालका शिक्षा विकास संयोजक केशव गिरीले बताउनु भयो ।
तालिममा माप्यदुधकोशी गाउपालिकाभित्र रीड नेपालले काम गर्ने २० विद्यालयका ५४ जना र पालिकाको तर्फबाट थप १५ जना र ४ जना स्थानीय स्रोत शिक्षक गरेर ७३ जना जना शिक्षक हरुको सहभागिता रहेको छ ।
तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षकहरु मुक्ति घिमिरे , सुजाता राई , विष्णु प्रसाद उपाध्याय, राजीव ढुंगाना र शरद गौतम र ऋषिकेश आचार्यले गरिरहनु भएको छ । यस अगाडी यही प्रकृतिको तालिम सोलु दुधकुण्ड नगरपालिकामा संचालन भएको थियो।

