तापक्रम क्रमशः घट्दै,सावधानी अपनाउन मौसम बिज्ञान बिभागको आग्रह
काठमाडौं।पछिल्लो समय मुलुकभर चिसो बढ्दै गएको भन्दै सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

तराईका केही भूभागमा विहान बाक्लो हुस्सु र कुहिरो लाग्ने र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रुपले घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन बिभागले अनुरोध गरेको हो ।
आगामी २४ घण्टामा तराईका केही जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्ने र पहाडी भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ । विभागका अनुसार आज पुस १ गते दिउँसो प्रदेश १, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ । एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, पुस २ गते शनिबार प्रदेश १, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने, एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । सोहीअनुसार पुस ३ गते आइतबार पनि प्रदेश १, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने, हल्का वर्षा हुनसक्ने र बाँकी ठाउँमा मौसम सफा रहनेछ ।

