पौडेललाई महाधिवेशनको गुनको पैंचो तिर्लान देउवाले ?
काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार भएको भेटमा पौडेलले कांग्रेस सभापतिसमेत रहेका देउवालाई सो आग्रह गरेका हुन्।
निर्वाचन सकिएर सबै परिणामहरू आइसकेकाले चाँडै पार्टीको संसदीय दलको नेता चयनको प्रक्रिया अघि बढाउने तयारीमा दलहरु छन् ।देशकै परिस्थिति अनुकूल नभएको र पार्टीको महाधिवेशनमा पनि आफूले पूर्ण रूपमा साथ दिएको भन्दै संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गर्न अनुरोध गर्दै पौडेलले पार्टीमा आफूले पनि सभापति देउवाजत्तिकै योगदान गरेकाले संसदीय दलको नेतामा आफू निर्वाचित भए पार्टीपङ्क्ति र सबैमा राम्रो सन्देश जाने बताएको उनको सचिवालयले जनाएको छ।
कांग्रेस नेता पौडेल कांग्रेसमा भावी प्रधानमन्त्रीका दावेदार मध्यका एक हुन्। पौडेलले गत पार्टी महाधिवेशनको दोस्रो चरणको मतदानमा मत हाल्नै नआएर कोइराला समूहलाई असहयोग गरेको र देउवालाई गुन लाएको राजनीतिक वृत्तमा चर्चा चल्ने गरेको छ।

