प्रमुख दलहरूको बैठक आज बस्दै,समानुपातिक सांसद चयन मुख्य कार्यसूची



काठमाडौ।निर्वाचन आयोगले समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज दिउँसो चार बजे सकिन लाग्दा दलहरू त्यसको तयारी गरिरहेका छन् । सांसदको टुङ्गो लगाउन नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जसपा र राप्रपालगायतका पार्टीले आज पार्टीको बैठक बोलाएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर छलफल गर्दैछ । निर्वाचनपछि पहिलोपटक कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ।

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पनि बस्दैछ । समानुपातिक सांसदको नाम चयनबारे बैठकमा छलफल हुन लागेको हो । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको नेकपा एमालेका नेता विष्णु रिजालले जानकारी दिए । बैठकमा मंसिर ४ गते सम्पन्न निर्वाचनको समानुपातिक प्रणाली अन्तर्गत समानुपातिक तर्फका सांसद चयन गर्ने विषयमा छलफल हुने बताइएको छ।

समानुपातिक सांसदको नाम टुंगो लगाउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पनि बस्ने भएको छ । यसअघि हिजो बसेको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची टुंगो नलगाइ सकिएको थियो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको थियो ।

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । पार्टी कार्यालयमा अहिले केहीबेरमा बस्नदे बैठकले समानुपातिकतर्फका सांसदबारे निर्णय गरिने भएको हो। जनमत र नागरिक उन्मुक्ति पार्टी र लोसपाले भने यसअघि नै समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् । समानुपातिक सांसद पाउने अन्य पार्टीहरुले पनि आजै छलफल गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्