राप्रपा पांचथरको बैठक सम्पन्न,निर्बाचनमा असहयोग गर्नेहरूलाई कारबाही गर्ने निर्णय
पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथर जिल्ला कार्य समितिले गत निर्वाचनमा जिम्मेवारी पूरा नगर्ने, अन्तरघात गर्ने नेता, कार्यकर्तालाई यथार्थ छानबिन गरी कारवाही गर्ने निर्णय गरेको छ ।
फिदिममा सम्पन्न जिल्ला समीक्षा भेलाको निर्णय बमोजिम पार्टी हित विपरीत कार्य गर्नेलाई आवश्यक कारवाही गर्ने निर्णय गरिएको हो ।जिल्ला अध्यक्ष कमल बहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न भेलाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहयोग गर्ने मतदाता, पार्टीका सहयोगी, शुभेच्छुकहरुलाई धन्यवाद दिने निर्णय गरेको छ ।
अध्यक्ष चेम्जोङले प्रस्तुत गरेको समीक्षा प्रतिवेदन अनुरुप जिल्ला मातहतका संगठनहरु गठन वा पूनर्गठन गर्ने, प्रशिक्षणलगायत नियमित कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ । यसैगरी पुष १५ भित्र जिम्मेवारी सम्पन्न गर्ने गरी वडा तहसम्म टोलीहरु परीचालन गर्ने निर्णय गरेको छ ।
जिल्ला उपाध्यक्ष प्रयागराज सुवेदीले सहभागीहरुलाई स्वागत गर्दै देशव्यापी रुपमा राप्रपाले फड्को मारेको बताए भने जिल्ला सहसचिव संजिव जोशीले राप्रपामा युवा पुस्ताको आकर्षण बढेको बताए ।