स्याङ्जामा धनराजको जित पक्का,बुथ कब्जा गरेकोमा आत्मालोचना गर्न गठबन्धनकारी दलका नेताको सुझाव
काठमाडौं । नेकपा एमालेकि उम्मेदवार पद्मा अर्याललाई पराजित गर्दैन कांग्रेस नेता धनराज गुरुङले स्याङ्जा-२ मा जित्ने निश्चित भएपछि सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा.विजय पौडेलले कांग्रेस उपसभापति धनराज गुरुङले बुथ कब्जाको कालो दाग भिरेर हिँड्नुपर्ने भएको टिप्पणी गरेका छन् ।

स्याङ्जा २ मा चापाकोट नगरपालिकाका ३ वटा बुथ कब्जा गरेर चुनाव जितेको आरोप लागेका गुरुङले आफैँले श्रद्धाञ्जली दिएका व्यक्तिको नामबाट पनि भोट खसालेको पौडेलले आरोप लगाएका छन्। उपमहासचिव पौडेलले फेसबुकमार्फत टिप्पणी गर्दै पापको फल अवश्य मिल्ने भएकाले गठबन्धनको सहयात्रीको नाताले पाप कटाउन सुझाव दिएको बताएका छन् ।
पौडेलले भनेका छन्- धनराज गुरुङजीले जीवनभर “बुथ कब्जा” को कालो दाग भिरेर हिँड्ने भए । धनराजले आफैँले श्रद्धाञ्जली दिएका व्यक्तिको पनि भोट खसालेछन् । लाजको मर्नु यो लोकतन्त्रको बेइज्जती हो । धनराजजी, धेरै दुःख गरेर भए पनि यो पाप कटाउनुस् । लोकतन्त्रमा यस्तो झेल त गर्न हुन्न है । पापको फल अवश्य मिल्छ । गठबन्धनको सहयात्री भएकैले झन् लेख्नै पर्यो । खुला खुलस्त आत्मालोचना गर्नुस् अन्यथा भविष्यमा तपाईँको राजनीति सकियो, गुण्डागर्दी मात्रै बाँकी रहने छ ।
पौडेल सत्ता गठबन्धनको सुरुआती कार्यदलको सदस्य समेत रहेर काम गरेका नेता हुन् । उनले गुरुङले खुलस्त आत्मालोचना नगरे गुण्डागर्दी मात्र बाँकी रहने बताएका छन् ।

