मानबीर राईको पक्षमा मतदान गर्न सोलुखुम्बुबासीहरुलाई किराँती र थापामगरको आग्रह



डिल्ली शर्मा,सोलुखुम्बु । सोलुखुम्बु जिल्लाका दुई प्रभावशाली राजनीतिज्ञ भूपाल किराँती र श्रीलाल थापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनमा नेकपा एमालेका उम्मेदवार हरुलाई बिजयी गराउन सोलुखुम्बु जिल्लाबासीहरुलाई आग्रह गरेका छन् ।

पूर्ब राष्ट्रिय पञ्चायत सदस्यसमेत रहेका समाजसेवी किराँती र नेपाली कांग्रेसका पूर्बमहासमिति सदस्य थापाले बुधबार नेकपा एमाले निर्बाचन परिचालन कमिटी नेचासल्यानद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै निर्बाचनमार्फत जिल्लाको बिकास र भावी सन्ततिहरुको भविष्यका लागि निष्ठावान र इमान्दार ब्यक्तिको छनौट गर्नु आवश्यक रहेको बताउंदै अहिलेसम्म निष्कलंक र गतिशील युवा उम्मेदवार भएका कारण प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार मानबीर राईलाई जिताउन आग्रह गरेका हुन्।

प्रदेशतर्फका दुबै उम्मेदवारहरुको जित निश्चित देखिएको दावी गर्दै उनीहरूले प्रतिनिधिसभा सदस्यका उम्मेदवार मानबीर राईलाई भारी मतान्तरले बिजयी गराउन सशक्त भूमिका निर्बाह गर्न देश तथा बिदेशमा रहेका सबै सोलुखुम्बुबासीहरुलाई अपिल समेत गरेका छन् ।

सभालाई सम्बोधन गर्दै पूर्ब माननीय किरांतीले निर्बाचन जित्नका लागि गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार बलबहादुर केसी जस्तोसुकै अपराध गर्न पनि तयार हुने उनको बिगत रहेको स्पस्ट पार्दै यसपटक पनि मत खरिद गर्न १४ करोड रुपैयाँ तयारी अवस्थामा राखेको सूचना आफुले पाएको दावी गरे।अब केसीले तपाईंहरुका मत खरिदका लागि टोलटोलमा ठेकेदारहरु पठाउनेछन,-‘उनीहरूले दिने पैसा खानुहोला।भोट सूर्यमा दिनुहोला’, किराँतीले भने।

केसी २० बर्ष सत्तामा र १४ बर्ष सत्ताको निकट रहँदा उनले जिल्लाको बिकासका लागि कुनै चासो नदिई भ्रस्टाचार मात्रै गरेको उनको आरोप थियो।गाउँमा सामान्य आर्थिक अवस्था भएका केसीले काठमाडौंमा ६/६ वटा घर कसरी बनाए ? सल्लेरीमा कसरी त्यत्रो सम्पत्ति जोडियो?अनि चुनावमा १४ करोड खर्च गर्नसक्ने उनको आयश्रोत के हो? प्रश्न गर्दै किरांतीले त्यसको एकएक हिसाब सोलुखुम्बुबासीले खोज्नुपर्ने बेला आएको बताए।

अत्यन्तै निकृष्ट,निरंकुश, आततायी र भ्रष्ट चरित्र बलबहादुरसंग छ, एउटा गरिव किसानको छोरो मानबीर निष्ठा र इमान्दारितामा कतै चुकेको आफुले नसुनेको बताउंदै उनले प्रश्न गरे-‘अब कस्तोलाई रोज्ने? निर्णय तपाईं हाम्रो हातमा छ,म चाहिँ मानबीरको सूर्य चिन्हमा भोट दिन्छु ।’

समाजसेवी एबम् नेपाली कांग्रेसका पूर्बमहासमिति सदस्य थापामगरले आफ्नो निकट रहेका पार्टी कार्यकर्ताहरुलाई कसरी स्थापित गर्ने भन्दा पनि उनीहरूलाई घोडाको तबेला रुँघाएर केसी आफ्नो सोझो मात्रै गर्ने भएकाले यसपटक उनलाई पराजित गराउनु आवश्यक रहेको बताए।पूर्ब जिल्ला सभापति बिनोद बस्नेतको राजनीतिक भविष्य केसीले समाप्त पारिदिएको दृष्टान्त दिंदै उनले भने ,-‘बिनोद बस्नेत हुन नचाहने कांग्रेस कार्यकर्ताले यसपटक मानबीर राईको सूर्य चिन्हमा मतदान गर्नुपर्छ।’ बलबहादुरलाई यसपटक पराजित गर्न सक्नु भो भने मात्रै अर्को पटकबाट तपाईंहरुको पालो आउँछ,होइन भने उनले आफ्नो राजनीतिक उत्तराधिकारी श्रीमतीलाई बनाउंनेछन,थापामगरले भने।

श्रीमतीलाई सोलुको राजनीतिमा स्थापित गराउनकै लागि आफुलाई अनेकौं चलखेल गरेर पार्टीबाट निष्काशित गरेको आरोप लगाउँदै उनले श्रीमतीलाई कसरी राजनीतिक उत्तराधिकार दिलाउने भन्दा अरु कुनै योजना र सोच बलबहादुरसंग नभएको जिकिर गरे।जिल्लाको बिकास र समृद्धि को सोछ र योजना मानबीर राईसंग रहेको बताउँदै उनले यसपटक पनि भ्रममा परेर बलबहादुरलाई मतदान गरे जिल्लाबासीले पछुताउनुपर्ने उनको भनाइ थियो।

नेकपा एमाले नेचासल्यान गाउँपालिका निर्बाचन परिचालन कमिटीका संयोजक धर्मध्वज खत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा किराँती र थापामगरका साथै नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार मानबीर राई,पूर्ब प्रदेश राज्यमन्त्री तथा प्रदेश निर्बाचन क्षेत्र क का उम्मेदवार उत्तमकुमार बस्नेत,एक नं प्रदेश कमिटी सचिवालय सदस्य महेश किराँती,नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोला,सचिवालय सदस्य कल्पना राई र नेचासल्यान अध्यक्ष जगनाथ बास्तोलाले आआफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्