यस्तो छ, भारतीय पर्यटक भित्र्याउने उम्मेदवार राजभण्डारीको योजना



सोलुखुम्बु । एक नम्बर प्रदेश सभा सदस्य सोलुखुम्बु ‘ख’ का एमाले उम्मेदवार बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बुमा भारतीय पर्यटक भित्र्याउन आफूले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ । गोराखानी तथा टाप्टिङका मतदाताहरुसँगको भेटघाट कार्यक्रममा उहाँले भारतीय पर्यटक भित्र्याउन सके आर्थिक उपार्जनमा टेवा पुग्ने भएकाले आफूले भारतीय पर्यटक भित्र्याउन सक्दो प्रयास गरिरहेको बताउनुभयो ।

भारतीय पर्यटक भित्र्याउनकै लागि कटारी – घुर्मीको सडक चौडा बनाउने काम भईरहेको छ । ‘यो सडक निर्माण सम्पन्न हुने वित्तिकै विराटनगरबाट हिडेको पर्यटक ७ देखि ८ घण्टामा पत्ताले आईपुग्नेछ’ मतदाताहरुसँग उम्मेदवार राजभण्डारीले भन्नुभयो ‘पत्तालेमा आएका पर्यटकले अझ राम्रो सँग दृश्यावलोकन चाहन्छ भने पिके पिकमा पनि पठाउन सकिन्छ ।’
उहाँले भारतीय पर्यटकहरुलाई भित्र्याउनका लागि विराटनगर लुक्ला उडान राख्ने, भारतीय पत्रकारहरुलाई सोलुखुम्बुमा ल्याएर यहाँका पर्यटकीय स्थलहरुको बारेमा व्यापक प्रचारप्रसार गर्न लगाउने योजना रहेको सुनाउनुभयो ।

पर्यटकहरुलाई पिकेसम्म हिडेर जाने पदमार्गका लागि पनि आफूले प्रदेश सरकारबाट ५० लाख बजेट विनियोजन गरी उक्त पदमार्ग निर्माणको काम भईरहेको उहाँले बताउनुभयो ।

‘पत्तालेमा भारतीय पर्यटक आउँदा हामीले के पाउँछौं ? भन्ने नसोच्नुस् त्यहाँ पर्यटकहरु बढेपछि होटेलहरुमा आलु, सिमी, तरकारीको माग बढ्छ, अहिले हामीले पाथीको १ सय ४० मा विक्री गरिरहेको अर्गानिक आलुको भाउ त्यत्तिबेला २/३ सय पुग्न सक्छ’ उहाँले भन्नुभयो ।नेता राजभण्डारीले गोरा टाप्टिङका युवा जमात ट्रेकिङ व्यवसायमा समेत संलग्न भएका हुनाले पर्यटक बढ्दा स्वभाविक रुपमा रोजगारी सिर्जना हुने बताउनुभयो । आफूले सम्भव हुने कुरा मात्र दर्शाएको उल्लेख गर्दै नेता राजभण्डारीले आश्वासन मात्र देखाएर जनतालाई झुक्याउने काम आफूबाट नहुने बताउनुभयो ।

मतदाता भेटघाट कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका सचिव आशकुमार राई (शिशिर) ले नेकपा एमालेका नेताहरु सबै पार्टीको साझा उम्मेदवार भएको बताउनुभयो । बाम – लोकतान्त्रिक गठबन्धन भित्र तीब्र असन्तुष्टि रहेकाले स्वच्छ छवि भएका एमाले नेताहरु सबै दलको रोजाईमा परेको बताउनुभयो ।‘मानवीर राई संघको उम्मेदवार हुनुहुन्छ, प्रदेश ‘ख’ को उम्मेदवार बुद्धिकुमार राजभण्डारी हुनुहुन्छ हाम्रा दुवै नेता स्वच्छ छबि, प्रष्ट वक्ता र स्पष्ट विचारका कारण सबै दलको साझा उम्मेदवार जस्तै बन्नु भएको छ सचिव राईले भन्नुभयो ‘त्यसैले तपाईले पनि सूर्य चिन्हमा भोट दिएर हाम्रा उम्मेदवारहरुलाई अत्याधिक बहुमतले विजयी गराउनुहोस् ।’(फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्