नेचासल्यानको चुनावीसभापछि केसी निराश,मानबीर बिजयी हुने सम्भावना बलियो



डिल्ली शर्मा,सोलुखुम्बु।नेपाली कांग्रेस नेतृत्वको बाम-लोकतान्त्रिक गठबन्धनले जिल्लाका अधिकांश स्थानमा चुनावी सभा सम्पन्न गरेको छ।जिल्ला सदरमुकामसमेत रहेको सोलुदुधकुण्ड नगरपालिकाबाहेक अन्यत्र सम्पन्न चुनावी सभामा भएको स्थानीयको न्युन सहभागिताले जिल्लामा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका केन्द्रीय सदस्य मानबीर राईको पल्लाभारी हुने विश्लेषण गर्न थालिएको छ।

सोलुखुम्बुमा गठबन्धनको तर्फबाट पूर्बमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष उम्मेदवार छन्।नेपाली कांग्रेस जिल्ला कार्यसमितिले समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरेका केसीले ब्यक्तिगत हठ प्रदर्शन गरेर प्रतिनिधिसभा सदस्यको उम्मेदवार हात पारेपछि अहिले जिल्लामा कांग्रेस र माओवादी केन्द्र दुबै पार्टीका कार्यकर्ताहरुमा तीब्र असन्तुष्टि छ।त्यही असन्तुष्टिको प्रकट रुप गठबन्धनले गरेका चुनावीसभामा देखिएको नेपाली कांग्रेसका एक जिल्ला नेताको भनाइ छ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका केसीले मतदानका हिसाबले आफ्नो गैरी खेत मान्दै आएको नेचासल्यानमा समेत उनीप्रतिको आकर्षण घटेको देखिएको छ।केसीको गृहपालिकासमेत रहेको सो स्थानमा शनिबार सम्पन्न चुनावीसभापछि केसी पुरै निराश बनेको नाम बताउन नचाहने ती कांग्रेस नेताले बताए।नेचासल्यानमा केन्द्रीय प्रशारण लाईनको बिजुली जडानमा केसीले लामो समयसम्म अवरोध गरेको र नेचासल्यान- थुलुङदुधकोशी जोड्ने चुर्पुघाट मोटरेबल अन्यत्र सारेको आरोप केसी माथि छ।यसैको आक्रोश र पार्टी कार्यकर्ताहरुको असन्तुष्टिले गृहपालिकामै उनले सोचेजस्तो मत खस्ने सम्भावना समाप्त भएको सो चुनावीसभाले गरेको उनको बिश्लेषण छ।

त्यसो त नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पूर्बसचिबसमेत रहेका युवा नेता चन्द्र आचार्यले शुक्रवारमात्रै पनि सामाजिक सञ्जाल फेसबुकमा सोलुखुम्बुका मतदाता परिवर्तनको पक्षमा भन्ने स्टाटस पोष्ट गरेका छन्।त्यसको अर्थ उनले कांग्रेस उम्मेदवार केसीको विकल्प खोज्नु पर्छ भन्ने नै हो। गत स्थानीय तह निर्बाचनमा नेचासल्यान गाउँपालिकाको वडा नं-३ मा वडाध्यक्षको उम्मेदवार बनेका आचार्य झिनो मतले पराजित बनेका थिए।क्रियाशील सदस्यहरुको ठुलो संख्या रहेको सो वडामा उनले हार्नुको पछाडी केसी पक्षीयहरुको अन्तर्घातलाई प्रमुख आधार मानिएको थियो।अन्तर्घात गर्नेहरूलाई कारबाहीको सिफारिस गर्दा केसीले उनीहरूको संरक्षण गर्ने गरि अभिव्यक्ति दिए।यसकारण पनि केसीकै प्रत्यक्ष निर्देशनमा आचार्य पराजित भएको बुझाई कांग्रेस कार्यकर्ताहरुको छ।आचार्य अर्का केन्द्रीय सदस्य आङगेलु शेर्पा पक्षधर नेता हुन्।कांग्रेसका जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पालाई सोलुदुधकुण्ड नगरपालिकाको प्रमुख र बीरबहादुर गुरुङलाई थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षमा पराजित गराउन केसीले ठुलै मेहनत गरेको आरोप लाग्ने गरेको छ।यही आक्रोशका कारण पनि कांग्रेसकै कतिपय कार्यकर्ताहरु अहिलेसम्म उनको पक्षमा खुलेर चुनाबी प्रचारमा लागेका छैनन्।

नेपाली कांग्रेसबाट यसअघि ६ पटक सोलुखुम्बुबाट उम्मेदवार बनेका केसी चार पटक निर्बाचित र दुई पटक पराजित भएका थिए।तीन पटक मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका केसीले यस पटक आफु समानुपातिकमा बसेर प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष तर्फ एकल सिफारिसमा परेका केन्द्रीय सदस्य शेर्पालाई सहयोग गर्ने जिल्लाका कांग्रेस कार्यकर्ताको अपेक्षा थियो।तर त्यस बिपरित नेकपा माओवादी केन्द्रमा समेत बिग्रह ल्याउने गरि केसी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेपछि दुई वटै पार्टीका कार्यकर्ता पंक्तिमा तीब्र असन्तुष्टि छ।

संकटका बेला जिल्लामा पार्टी र कार्यकर्ताहरुको वास्ता नगर्ने आरोप पनि उनीमाथि छ।१० बर्षे माओवादी द्वन्द्वको अन्तिम काल खण्ड र कोरोना संक्रमणका बेला केसीको अनुहार समेत देख्न नपाएको गुनासो अहिले पनि कांग्रेस कार्यकर्ताहरु गरिरहेका छन्।बरु तत्कालीन पार्टी सभापति र हाल केन्द्रीय सदस्य रहेका शेर्पाले द्वन्द्वकालमा कार्यकर्ताहरुको मनोबल उच्च बनाउन र संगठनलाई जीवित राख्न भन्दै जिल्ला ब्यापीरुपमा लोक जागरण अभियान सञ्चालन गरेका थिए भने कोरोना कालमा उनले स्थानीय जनताहरुलाई रोजगारीसंग जोड्दै स्वावलम्बी बनाउन बीउ पुँजीका रुपमा आफ्नो तर्फबाट पचास हजार रुपैयाँ जिल्लाका आठवटै स्थानीय तहलाई प्रदान गरेका थिए।बजेट थप गरेर कार्यक्रम सन्चालन गर्न आग्रह गर्दै उनले बीउ पुँजी हस्तान्तरण गरेको बिषयले त्यतिबेला जिल्लाब्यापी चर्चा पाएको थियो।यसकारण पनि कांग्रेस कार्यकर्ताहरुले उनलाई यसपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा हेर्न चाहेका थिए।केसीका कारण त्यो सम्भव नभएपछि निराश कांग्रेस कार्यकर्ताहरुले उनको विकल्प खोज्ने र त्यसले आफुहरुलाई फाईदा हुने एमाले कार्यकर्ताको बुझाई छ।

कार्यकर्तामा चरम असन्तुष्टि रहेपनि कांग्रेस केन्द्रीय सदस्य शेर्पा समूह भने बिद्रोह गर्ने मनस्थितिमा अहिले सम्म देखिएको छैन।उनी निकट मानिने पार्टी जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पाकै अध्यक्षतामा जिल्ला कार्य समितिको बैठक बसेर चुनावी रणनीति बनाएको घटनाक्रमले पनि नेतृत्व तहले चुनावमा बिद्रोह गर्ने सम्भावना देखिंदैन।तर कार्यकर्ता तहमा बिकसित असन्तुष्टि र असन्तोषले मानबीरलाई जीत हात पार्न सहज हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्