बिपी कोइरालाकि नातिनी अभिनेत्री मनिषाले गरिन राप्रपालाई भोट दिन आग्रह



पोखरा । प्रसिद्ध अभिनेत्री मनिषा कोइरालाले अन्य पार्टीहरु आश्वासन दिने तर पूरा नगर्ने भएका कारण यस पटक राप्रपालाई भोट दिन पोखरेलीहरुलाई आग्रह गरेकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा पृथ्वी चोकमा आयोजित आमसभालाई सम्बोधन गर्दै कोइरालाले अन्य पार्टी भन्दा राप्रपा इमान्दार रहेको भन्दै उनले हलोमा भोट हाल्न आग्रह गरेकी हुन् । अभिनेत्री कोइरालाले नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालालाई अरूले बिर्सिए पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्झिरहने पनि बताइन। ‘अरू सबैले बिपी बालाई बिर्सेका होला, तर उहाँ (लिङ्देन)ले बिर्सेको रै’नछ।’
बिपीका नातिनीसमेत रहेकी कोइरालाले राजा महेन्द्र र बिपीबीच राम्रो सम्बन्ध रहेको समेत दाबी गरिन्।

‘तपाईंहरूलाई थाहा छ कि छैन, व्यक्तिगत रूपमा श्री ५ महेन्द्र सरकार र बिपी बामा एकदम राम्रो आदर भाव हुँदाहुँदै पनि त्यो बखत मुलुकले ठूलो अवसर गुमाएको छ ,’ उनले भनिन्, ‘किनकी, उहाँहरूले सहकार्य गर्न पाउनुभएन। अहिले फेरि त्यो मौका आएको छ।’

अहिले निर्वाचनमा राप्रपालाई जिताएर उक्त मौका गुमाउन नहुने उनले बताइन्। बिपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति, राजसंस्था र बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको बाटो देखाएको भन्दै उनले अहिले उक्त मुद्दा लिङ्देनले उठाएको उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्